धरान । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। केही वर्षअघिसम्म सुनसान जंगल र उजाड बगरका रूपमा रहेको क्षेत्र अहिले श्रमदानमार्फत विकसित भएर धरानकै चर्चित पर्यटन गन्तव्यमा परिणत भएको हो।
विशेषगरी पार्कभित्र निर्माण गरिएको आकर्षक वाटर फाउन्टेन, हरियाली वातावरण, चौतारा, फूलबारी तथा विभिन्न सांस्कृतिक संरचनाले पर्यटकलाई लोभ्याउने गरेका छन्। सिराहाको धनगढीमाई नगरपालिकाबाट घुम्न आएका हरिनारायण चौधरीले सामाजिक सञ्जालमा देखेको पार्क प्रत्यक्ष अवलोकन गर्दा निकै सुन्दर लागेको बताए।
उनका अनुसार प्राकृतिक संरचनाको संरक्षण र सौन्दर्यकरण गर्न सके उजाड बगरसमेत उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्ने उदाहरण श्रम संस्कृति पार्कले प्रस्तुत गरेको छ। पहिले ‘ओशो पार्क’ र ‘बीपी पार्क’ नामले परिचित क्षेत्र अहिले ‘श्रम संस्कृति पार्क’का रूपमा चिनिन थालेको छ। श्रमदान अभियानसँगै आसपासमा एसडिबी पार्क, रक गार्डेन, चिल्ड्रेन पार्क, ज्येष्ठ नागरिक पार्कलगायत संरचना निर्माण गरिएका छन्। गोर्खाली भूपू लाहुरेहरूले निर्माण गरेको ‘गोर्खा चौतारी’ पनि पर्यटकको अर्को आकर्षण बनेको छ। सर्दु, खर्दु र निसाने खोलाको बगर क्षेत्रमा फैलिएको पार्कमा फलफूलका बिरुवा, विश्रामस्थल, चौतारा र बगैँचा निर्माण गरिएको छ।
धरानको पहिचान झल्काउने काठ काट्ने आराको नमुना तथा किरात संस्कृतिसँग सम्बन्धित चिन्डो आकारको धारा पनि पार्कभित्र राखिएको छ। स्थानीय जीवनशैली झल्काउने प्रतिमाले पार्कलाई थप आकर्षक बनाएका छन्। झापाबाट घुम्न आएका जयन्ती जिमीले पाँच–छ वर्षअघिको सुनसान क्षेत्र अहिले हरियाली र संरचनाले भरिएको देख्दा अचम्म लागेको बताए। “पहिले जंगल, झाडी र खोला मात्रै थियो, अहिले चारैतिर फूल, चौतारा र रमाइलो वातावरण बनेको छ,” उनले भने।
पार्क निर्माणपछि आसपास क्षेत्रमा होटल तथा खाजा पसलको संख्या उल्लेख्य रूपमा बढेको छ। स्थानीय व्यवसायी सुरज गुरुङका अनुसार पहिले चार–पाँचवटा मात्र खाजा घर रहेको क्षेत्रमा अहिले दुई दर्जनभन्दा बढी व्यवसाय सञ्चालनमा आएका छन्। दैनिक धरान, इटहरी, मोरङ, झापा, धनकुटा, पाँचथर र तेह्रथुमलगायत जिल्लाबाट सयौँ पर्यटक आउने गरेका छन् भने बिदाका दिनमा पाँच हजारसम्म पर्यटक पुग्ने गरेको पार्क संरक्षण समितिले जनाएको छ।
समितिका अध्यक्ष पुनेन्द्रप्रसाद लिम्बूका अनुसार उक्त क्षेत्र पहिले पैदलमार्गका रूपमा मात्र प्रयोग हुन्थ्यो। धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख हर्कराज राई (साम्पाङ)को नेतृत्वमा सुरु भएको श्रमदान अभियान, स्वदेश तथा विदेशमा रहेका दाताको सहयोग तथा स्थानीयवासीको सक्रियताले पार्क निर्माण सम्भव भएको उनले बताए। हाल पार्क क्षेत्रमा २५ देखि २८ जनाले रोजगारी पाएका छन्। पार्कभित्र तीनवटा टिकट काउन्टर सञ्चालनमा छन् भने बोटबिरुवाको संरक्षणका लागि कर्मचारीसमेत खटाइएको छ।
खोलाको किनारमा पार्क रहेकाले बर्खायाममा आउने बाढीले केही संरचनामा क्षति पुर्याउने समस्या रहेको समितिको भनाइ छ। खोलाको उचित व्यवस्थापन गर्न सके पार्क अझ व्यवस्थित र सुरक्षित बन्ने विश्वास स्थानीयवासीको छ। यस क्षेत्रको पूर्वाधार विकासमा विभिन्न समयमा बजेटसमेत विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०७५/७६ मा पूर्वसांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट २० लाख रुपैयाँ विनियोजन गरी ओशो पार्क र बीपी पार्क निर्माण गरिएको थियो भने पूर्वसांसद कृष्णकुमार राईको कोषबाट १० लाख रुपैयाँ सहयोगमा घिर्लिङ अवशेषसम्म जाने सिँढी निर्माण गरिएको थियो।
यस्तै, धरान–१३ को फुस्रे चोकदेखि श्रम संस्कृति पार्कसम्म पुग्ने करिब एक किलोमिटर सडक कोशी प्रदेश सरकारको ४० लाख रुपैयाँ सहयोगमा कालोपत्र भएपछि पर्यटकलाई आवतजावतमा सहज भएको छ।