घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

म्याग्दी । वरपर भिरालो पाखा । पाखाभरि जंगल । जंगलको पूर्व र उत्तरतर्फ अग्ला हिमालबीच भागमा समथर चौर । शान्त र एकान्त वातावरण । चराको चिरविर आवाज । घरपालुवा पशुहरूको घुम्ती गोठ । म्याग्दीको धवलागिरी गाउँपालिका– ४ मा रहेको दोभान मनमोहक र रमणीय छ । करिब २० वर्षअघि बगरका बासिन्दाले बर्खायाममा घुम्ती पशुगोठ राख्ने थलोमा सीमित दोभान पछिल्लो समय धौलागिरि चक्रीय पदमार्गको गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभान पछिल्लो समय घुम्ती पशुगोठ राख्ने खर्कबाट पर्यटकीयस्थलमा रुपान्तरण भएको स्थानीयबासी लक्ष्मण घर्तीले बताए । ‘धौलागिरि चौथोको फेदबाट बगेर आउने कुनावाङ र धौलागिरि पहिलोबाट आउने म्याग्दी नदी मिसिने भएकाले दोभान नामाकरण भएको यो ठाउँ केही वर्षअघिसम्म खर्कमा सिमित थियो,’ नले भने, ‘धौलागिरि हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्ग भएर म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकले एकरात दोभानमा बिताउन थालेपछि पर्यटकीयस्थलका रूपमा विकास भएको छ ।’

दोभानदेखि एक दिनको पैदलयात्रापछि धौलागिरि हिमालको इटाली आधार शिविर र धौलागिरि चौथो हिमालको फेदमा रहेको कुनावाङ तालमा पुगिन्छ । गोलो आकारको कुनावाङ तालमा पातपतिंगर खसेमा चराले टिपेर सफा गर्दै आएको स्थानीय सोम पुनले बताए । ‘कुनावाङ क्षेत्रमा जापानी अनुसन्धानकर्ताले हिममानवको बासस्थानको पनि अध्ययन गरिरहेका छन,’ उनले भने, ‘बगरहुँदै दोभान जोड्ने सडकको मार्ग खुलेपछि अझै चहलपहल बढेको छ ।’

दोभाननजिकैको पहाडमा मृग, झारल, घोरललगायत वन्यजन्तुको पनि अवलोकन गर्न पाइने पुनले बताए । बस्तीदेखि टाढा रहेको दोभान प्रकृतिमा रमाउन चाहनेका लागि उपयुक्त गन्तव्य भएको आन्तरिक पर्यटक चिरञ्जिवी पौडेलले बताए । वसन्तयाममा लालीगुराँस फुलेर रंगिने वनपाखामा बर्खामा बुकी फुल्दा झनै मनमोहक हुन्छ ।

दोभानमा पर्यटकको सुविधाका लागि दुईवटा होटल छन् । त्यहाँ ५० जना बास बस्न सक्छन् । रातो च्याउ, निगालोको टुसाका परिकारको स्वाद लिन पाइन्छ । म्याग्दीखोला जलविद्युत आयोजनाले बाँध निर्माणस्थल दोभानसम्म पहुँचमार्ग निर्माण गरेपछि त्यहाँ जिप र मोटरसाइकल पुग्न थालेका छन् । धौलागिरि चक्रीय पदमार्गको अन्तिम मानवबस्ती बगरदेखि दोभानस्थित बाँध निर्माणस्थलसम्म ९ किलोमिटर सडकको मार्ग खोलेपछि आवत जावत र ढुवानीमा सहज भएको छ यसअघि बगरदेखि दोभान पुग्न पुरै दिन भिर, जंगल र खोल्साको बाटो हिड्नुपर्ने थियो ।

बेनीदेखि पाँच घण्टामा दोभान पुग्न सकिने भएको छ । पछिल्लो समय विदेशी पर्यटकले मार्फादेखि आधारशिविर जाने पदमार्ग र हेलिकोप्टर प्रयोग गर्न थालेपछि चहलपहल घटेको दोभानमा यातायात सुविधा पुगेपछि आन्तरिक पर्यटक घुम्नका लागि आउन थालेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार