
गोरखा । पचास वर्षअघिसम्म सामागाउँका बासिन्दाले गाउँमाथिको पवित्र ताललाई ‘यमच्छो’ भन्थे । विसं २०३४ मा जब तत्कालीन राजा वीरेन्द्र यहाँ भ्रमणमा आए, उनी यमच्छो देखेर गदगद् भएका थिए । मनास्लु बगेर जमेको यो ताल राजालाई धेरै नै मन परेछ भन्ने स्थानीयले महसुस गरेछन् । राजा बिदा हुने बेला स्थानीयले हार्दिकताका साथ यमच्छोको नाम सोही दिनदेखि विरेन्द्रको नामबाट राखिदिएको र त्यो सुनेर उनी खुसी भएका थिए ।
यो इतिहासबारे चुमनुब्री गाउँपालिका–१ का पूर्वअध्यक्ष वीरबहादुर लामाले सुनाएका हुन् । सामागाउँभन्दा केही माथि मनास्लुको काखमा अवस्थित यही सुन्दर ताललाई त्यसपछि सबैले वीरेन्द्र ताल भन्न थालेको उनले बताए । त्यही बेलादेखि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्नुका मुख्य आकर्षणमध्य यो ताल पनि पर्ने गरेको स्थानीयको भनाइ छ । गत वर्ष २०८२ मा यहाँ करिब १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेकामा दुईतिहाइभन्दा धेरैले सामागाउँ (नुब्री भ्याली) भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को तथ्याङ्कमा उल्लेख छ ।
यसरी बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक सामागाउँ भ्रमण गर्नुको मुख्य उद्देश्य वीरेन्द्र ताल सामागाउँ र मनास्लु हिमाल रहेको स्थानीय मिङ्मार छिरिङ लामाले बताए । पछिल्लो समय समुद्री सतहबाट करिब तीन हजार ६९१ मिटर उचाइमा अवस्थित वीरेन्द्र ताल मनास्लु पदयात्रामा आउनेहरूको रोजाइमा पर्न थालेको उनले सुनाए । सामागाउँबाट करिब आधा घण्टा पैदल हिँडेर वीरेन्द्र ताल पुग्न सकिन्छ । यसलाई स्थानीयले ‘यामच्छो’ भन्छन् । यामच्छो तिब्बती शब्द हो भने यसको अर्थ ‘माथिल्लो ताल’ हुने गरेको जानकारहरू बताउँछन् ।
वीरेन्द्र ताल चारैतिर कडा चट्टानले घेरिएको छ । माथिपट्टि सेता हिमाल फेटा बनेर टल्किएका छन् । यहाँ पुग्न गोरखा सदरमुकामबाट एक दिन मोटरमा र तीन दिन पैदल हिँड्नुपर्ने एमक्यापका भुवनराज ओझाले बताए । सदरमुकामबाट सिर्दिबाससम्म मोटरमा र सिर्दिबासबाट तीन दिन पैदल हिँडेर सामागाउँ पुग्न सकिने उनले जानकारी दिए ।
वीरेन्द्र ताल मुख्यगरी पुङ्गेन ग्ल्यासियर (हिमनदी)बाट पग्लिएर आउने पानी र हिउँबाट बनेको छ । पुङ्गेन शब्द तिब्बती भाषाको ‘फुन ग्यान’बाट बनेको हो, जसको अर्थ तीन चुचुराहरू हो । पुङ्गेनको अर्थ ‘रक्षक देवता’समेत रहेको स्थानीय मिङ्मार छिरिङको भनाइ छ । उनका अनुसार सन् १९५० अघि सामागाउँवासीले मनास्लु आरोहण गर्दा पुङ्गेन देवता रिसाउने डरले कसैलाई पनि आरोहण गर्न दिँदैनथे । त्यसैकारण जापानबाट मनास्लु आरोहण गर्न आएका टोलीलाई सामागाउँवासीले तीनपटकसम्म आरोहणमा रोक लगाएको उनले सुनाए ।
अचेल भने मनास्लु हिमाल आरोहणमा कुनै रोक छैन । हरेक वर्ष सयौँले हिमाल आरोहण गर्ने गरेका छन् । मनास्लु हिमाल आरोहणका लागि जाँदा वीरेन्द्र ताल हुँदै बेसक्याप जानुपर्ने हुन्छ । सो तालबाट मनास्लु बेसक्यापसम्म जान चार घण्टा पैदल हिँड्नुपर्ने स्थानीय बताउँछन् ।
वैज्ञानिक अध्ययनका अनुसार वीरेन्द्र तालको क्षेत्रफल निरन्तर बढिरहेको छ । सन् १९८८ मा शून्य दशमलव ०९ वर्ग किलोमिटर रहेको यस तालको आकार बढेर सन् २०२४ मा शून्य दशमलव २२ वर्गकिलोमिटर पुगेको छ । जलवायु परिवर्तका कारण हिमनदीहरू तीव्र रूपमा पग्लँदा यस तालको क्षेत्रफल बढेको अध्ययनले देखाएको छ । यसअघि, विसं २०८१ मा हिमपहिरोका कारण वीरेन्द्र तालको पानी बाहिर उछिट्टिएर पुललगायत केही भौतिक संरचना नष्ट भएका थिए ।













समाचार
कुगेलेइनले एनपिएल तेस्रो सिजन पनि सुदूरपश्चिमबाटै खेल्ने
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासकाे मत
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ