पासाङ दावा ३१ औं पटक सगरमाथाकाे शिखरमा

काठमाडौं । नेपालका प्रख्यात एवं अनुभवी पर्वतारोही पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३१ औं पटक सफल आरोहण गरेर पर्वतारोहणको इतिहासमा अर्को एउटा स्वर्णिम अध्याय थपेका छन् । जारी वसन्त ऋतुको पर्वतारोहण अन्तर्गत उनले शुक्रबार बिहान ४ः२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् ।

टाग नेपाल ट्रेक्स एन्ड एक्सपेडिसनका अनुसार दावाको यो यसै सिजनको दोस्रो र समग्रमा ३१ औं सफल आरोहण हो । यसअघि उनले सोही सिजनको वैशाख ३१ गते (मे १४) मात्रै सगरमाथाको ३० औँ पटक सफल आरोहण गरेका थिए । ‘क्लाइम्बिङ द सेभेन समिट्स’ र ‘टाग नेपाल’ को संयुक्त व्यवस्थापनमा यो आरोहण दल सञ्चालन गरिएको थियो ।

सन् १९९८ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका पासाङ दावाले विगत झण्डै तीन दशकदेखि हिमालको काखमा अविचलित यात्रा तय गर्दै आएका छन् । उनको यो निरन्तरता र साहसिक यात्राले नेपाली पर्वतारोहण क्षेत्रलाई विश्वस्तरमा नयाँ उचाइ दिएको छ ।

कामीरिता शेर्पासँगको रोचक प्रतिस्पर्धा
सगरमाथाको सर्वाधिक आरोहणको कीर्तिमान बनाउने क्रममा पासाङ दावाले एभरेष्ट म्यान कामीरिता शेर्पालाई पछ्याइरहेका छन् । छोटो अवधिमै ३० औँ र ३१ औँ आरोहण पूरा गर्दै उनले कीर्तिमानी दौडलाई रोमाञ्चक बनाएका छन् । यी दुई भेट्रान आरोहीहरूबीचको प्रतिस्पर्धाले नेपाली शेर्पाहरूको व्यावसायिकता, हिमालप्रतिको समर्पण र साहसिक क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रतिष्ठित बनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार