
खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकैदिन २६ लाख रुपैयाँ बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा खरिद गरिएको आधुनिक कृषि सामग्री गाउँपालिकाभित्रका विभिन्न कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको हो ।
गाउँपालिकाको ७५ तथा किसानको २५ प्रतिशत लगानीमा खरिद गरिएको कृषि सामग्री गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको गाउँपालिकाका कृषि प्राविधिक उद्धव बाँस्तोलाले जानकारी दिए । सम्बन्धित वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाको कृषि विकास समितिले छनोट गरेर आवश्यकताका आधारमा किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।
कृषि विकास समितिबाट छनोट भएका कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीलाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै प्रविधिको प्रयोग गरेर किसानको उत्पादन बढाउने उद्देश्यले कृषि सामग्री प्रदान गरिएको गाउँपालिका प्रमुख फटिक कुमार श्रेष्ठले जानकारी दिए । खेतबारी जोत्नका लागि ३३ मिनीटिलर, धान, मकै र गहँु कुट्नको लागि आठवटा थ्रेसर, धान, घाँस काट्नका लागि १३ वटा ब्रसकटर, खाडल खन्न पाँचवटा अर्थअगर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । कृषि बालीमा विषादी छिट्न प्रयोग हुने इलेक्ट्रिक स्प्रेअर ५२ वटा, सिँचाइका लागि हजारी ४२ वटा, आधुनिक मौरीघार ११२ वटा र फलफूलको हाँगा काट्ने सिकेचर आठवटा प्रदान गरिएको हो ।
प्रविधिको बढ्दो प्रयोग भइरहेको अवस्थामा गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा कृषि सामग्री ल्याएर गाउँमै उपलब्ध गराएपछि किसान हर्षित भएका छन् । रावाबेँसी गाउँपालिका जिल्लाको अन्य नौ स्थानीय तहको तुलनामा सबैभन्दा बढी कृषि उपज उत्पादन हुने स्थानीय तहमा पर्दछ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो गाउँपालिकामा यतिबेला लिची उत्पादन भएको छ । लिची उत्पादनको केन्द्र मानिने रावाबेँसी गाउँपालिकामा गत वर्ष लिची बिक्रीबाट मात्रै रु ९५ लाख ६८ हजार भित्रिएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
किसानले उत्पादन गरेका लिची आफ्नै गाउँमा प्रतिकिलो रु ५२ का दरले बिक्री गरेका कृषि शाखा प्रमुख बाँस्तोलाले बताए । छवटा वडा रहेको यो गाउँपालिकाको वडा नं १ कुभिण्डेका स्थानीय खड्गप्रसाद रेग्मीले यस वर्ष एउटै बोटमा फलेको लिची ४५ हजारमा ठेकेदारलाई घरैबाट बिक्री गरे । लिची बिक्रीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसको प्रवद्र्धनमा खासै चासो नदिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइदिनुपर्ने किसानको माग छ । रावाबेँसी गाउँपालिकामा फलफूलका साथै धान, मकै, गहुँ, कोदो तथा फापर अत्यधिक मात्रामा उत्पादन हुने गरेको छ । रावाखोला फाँटमा उत्पादन भएको धान राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा खपत हुने गरेको छ ।













समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश