
गोरखा । जिल्लाको ४ वटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरुआत गरेको हो ।
गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो । डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका हुन् ।
कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गारिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत शिशिर लम्सालले बताए । यस्तै, वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिए ।
कार्यालयको बायोमासमा आधारित प्राङ्गारिक मल उत्पादन कार्यक्रमअन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरेको अधिकृत लम्साल बताउँछन् । कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलँदै गएको मिचाहा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा सहयोग पुर्याउने उनले बताएका छन् ।
“वनमारालगायत मिचाहा प्रजाति व्यवस्थापन र रैथाने प्रजातिको संरक्षणमा कार्यक्रमले सहयोग पुर्याउँछ”, उनले भने । यसैगरी, प्राङ्गारिक मलको उत्पादनले रासायनिक मलको अभावलाई केही हदसम्म परिपूर्ति गरेर कृषि र वनको सम्बन्ध स्थापित गर्ने तथा जैविक कृषि प्रवर्द्धन गर्ने वन अधिकृत लम्सालको भनाइ छ ।
कार्यक्रमअन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पातपतिङ्गरहरू (वनमारा, झाडी, पात, काठको टुक्रा) सङ्कलन गर्छ । सङ्कलन भएका उक्त सामग्रीहरूलाई पाँचदेखि आठ फिट चौडाइ र तीनदेखि पाँच फिट उचाइको लामो तह बनाएर खुला ठाउँमा जम्मा गरिन्छ ।
मल बन्नका लागि उपयुक्त विधि तथा प्रक्रिया पुर्याएर आठदेखि १२ हप्ताभित्र उच्च गुणस्तरको प्राङ्गारिक मल तयार हुने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए । उनका अनुसार कार्यक्रमले मिचाहा प्रजातिको व्यवस्थापन, डढेलो नियन्त्रण तथा सामुदायिक वनको आयआर्जनमा ठुलो टेवा पुर्याउनेछ ।












समाचार
सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी
नारायणघाट–बुटवल सडकमा बाँदरलगायत वन्यजन्तुका लागि क्यानोपी ब्रिज निर्माण
नेपालगञ्जमा विद्युत् आपूर्ति समस्याको समाधानका लागि पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने
देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
जोखिममा परेका बालबालिकालाई सहयोग
विश्वकप फुटबल : पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
मोरक्को क्वार्टरफाइनलमा प्रवेश, क्यानडा पराजित
यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ