
काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शान मसुदलाई टेस्ट कप्तानबाट हटाउँदै पुन: बाबर आजमलाई नेतृत्व सुम्पिएको छ । वेस्ट इन्डिज विरुद्ध यसै महिना सुरु हुने दुई खेलको टेस्ट शृङ्खलाबाट बाबरले दोस्रोपटक टोलीको कप्तानी सम्हाल्नेछन् ।
मसुदको कप्तानीमा पाकिस्तानले ऐतिहासिक रूपमै खराब प्रदर्शन गरेपछि बोर्डले यो निर्णय लिएको हो । करिब तीन वर्षअघि कप्तान नियुक्त भएका मसुदले १६ टेस्टमा पाकिस्तानको नेतृत्व गरेका थिए, जसमा टोलीले १२ खेलमा हार बेहोरेको थियो । टेस्ट इतिहासमै आफ्नो सुरुवाती १६ खेलमध्ये १२ खेल हार्ने उनी पहिलो कप्तान बनेका छन् । पाकिस्तानले पछिल्ला लगातार सात टेस्ट खेल हारेको छ, जुन टोलीको इतिहासकै सबैभन्दा खराब प्रदर्शनको बराबरी हो ।
पाकिस्तानका ‘हाई-परफर्मेन्स’ निर्देशक आकिब जावेदले टोलीले जित्ने स्थितिमा रहेका खेलहरू पनि लगातार गुमाउनु र नेतृत्वमा देखिएको कमजोरीका कारण कप्तान परिवर्तन गर्नुपरेको बताएका छन् । उनले भने, ‘शानको कप्तानीमा धेरै खेलहरू नजिक पुगेर पनि हारियो । दक्षिण अफ्रिका र वेस्ट इन्डिज विरुद्धका खेलहरू हाम्रै हातमा थिए, तर अन्तिममा हामीले गुमायौँ । खेल टुङ्ग्याउने जिम्मेवारी कप्तानको पनि हो ।’ जावेदले ओभर रेट कायम राख्न र सही समयमा डीआरएस निर्णय लिन मसुद चुकेको पनि उल्लेख गरे ।
मसुदको नेतृत्वमा पाकिस्तानले अष्ट्रेलियासँग ३-० र बंगलादेशसँग घरेलु मैदानमै २-० को लज्जास्पद हार बेहोरेको थियो । उनको कप्तानीमा पाकिस्तानले सात शृङ्खलामध्ये इंग्ल्याण्ड विरुद्धको एक शृङ्खला मात्र जित्न सक्यो । अहिले पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको तालिकामा पुछारमा छ ।
यद्यपि, कप्तानको रूपमा मसुदको व्यक्तिगत ब्याटिङ प्रदर्शन भने सुधारिएको थियो । कप्तान हुनुअघि २८.५१ को औसत रहेका उनको कप्तानी सम्हालेपछि औसत ३४.०६ पुगेको थियो । टोलीबाट हटाइए पनि उनले ब्याटरको रूपमा भने स्थान सुरक्षित राखेका छन् ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित