
आउँदो अक्टोबर महिनामा भारतको दार्जिलिङ र कालिम्पोङमा ‘विश्व शेर्पा सम्मेलन’ आयोजना हुने भएको छ । जुलाई २५ मा विश्व शेर्पा संघका अध्यक्ष थेण्डुप शेर्पाको अध्यक्षतामा बसेको भर्चुअल बैठकले सम्मेलनको मिति, स्थान र व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको हो । बैठकले गरेका निर्णयहरूबारे जानकारी दिँदै विश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पाले तीन दिने विश्व सम्मेलन अक्टोबर ८ देखि सुरु हुने बताए ।
महासचिव शेर्पाका अनुसार अक्टोबर ८ तारिखका दिन भारतको दार्जिलिङस्थित चौरस्तामा उद्घाटन समारोह आयोजना गरिनेछ । दोस्रो दिन सोनादा (दार्जिलिङ) मा “Sherpas of the Eastern Himalayas” विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ भने तेस्रो दिन कालिम्पोङको लाभामा बन्द सत्र, नयाँ कार्यसमिति चयन तथा घोषणा सभा आयोजना गरिनेछ ।
सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको नामावली पठाउन विश्वभरका सदस्य संस्थाहरू तथा किदुगहरूलाई पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ।
पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई निमन्त्रणा गरिने
सम्मेलनका लागि भारतीय राज्य पश्चिम बङ्गालका मुख्यमन्त्री सुवेन्दु अधिकारीलाई प्रमुख अतिथि र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) लाई ’गेस्ट अफ अनर’का रूपमा आमन्त्रण गर्ने निर्णय भएको छ। अन्य अतिथिहरूको नामावली विश्व शेर्पा संघ र अल इन्डिया बुद्धिस्ट शेर्पा एसोसिएसनले तयार पारी सम्बन्धित देशका संघ–संस्था मार्फत सम्पर्क गरिने महासचिव शेर्पाले जानकारी दिए।
सम्मेलनका लागि आर्थिक सहयोग जुटाउने जिम्मेवारी विश्व शेर्पा संघका कोषाध्यक्ष नुर्बु शेर्पा र अल इन्डिया बुद्धिस्ट शेर्पा एसोसिएसनका कोषाध्यक्ष मिङ्मा शेर्पालाई दिइएको छ।
‘शेर्पा रत्न’ र ‘शेर्पा तारा’ अवार्डका लागि छनौट समिति
बैबैठकले संघले प्रदान गर्ने ‘शेर्पा रत्न’ (Sherpa Rinchen Norbu Award) र ‘शेर्पा तारा’ (Sherpa Great Star Award) सम्मानको ढाँचा पारित गर्दै छनौट समिति गठन गरेको छ।
अध्यक्ष थेण्डुप शेर्पाको संयोजकत्वमा गठित समितिमा संस्थापक अध्यक्ष आङ दोर्जी लामा, वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, प्रवक्ता दोर्जी पिनासा शेर्पा सदस्य र महासचिव आङ जाङ्बु शेर्पा सदस्य–सचिव रहेका छन्। समितिमा थप दुई जना सदस्य अध्यक्षले मनोनयन गर्नेछन्। यी अवार्डहरूको नाम सम्बोटा (तिब्बती÷शेर्पा), नेपाली र अंग्रेजी भाषामा लेखिनेछ।
शेर्पा संस्कार र संस्कृति समेटिएको पुस्तक प्रकाशन गरिने
विश्व शेर्पा संघले पहिलो पटक शेर्पा जातिको थर, जन्म, विवाह, मृत्यु संस्कार, मुख्य चाडबाड तथा पूजापाठ समेटेर पुस्तक प्रकाशन गर्न लागेको छ। उक्त पुस्तकमा शेर्पा जातिको भेषभूषा, गहनापात र परम्परागत खानेकुराका परिकारबारे विज्ञ व्यक्तिहरूबाट लेख रचना थप गरी समृद्ध बनाउने निर्णय भएको महासचिव शेर्पाले बताए।
नयाँ नेतृत्व चयनको पहल
बैठकले शेर्पा संघ दक्षिण कोरियाको नयाँ कार्यसमिति अध्यक्ष दोर्ची शेर्पा र टोलीलाई बधाई ज्ञापन गरेको छ। साथै, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको अध्यक्षमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै बधाई प्रस्ताव पारित गरेको छ। आगामी कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्न युरोपमा रहेका शेर्पा संघ–संस्थाहरूसँग आवश्यक परामर्श र सरसल्लाह अघि बढाउने निर्णयसमेत संघले गरेको महासचिव आङ जाङ्बु शेर्पाले जानकारी दिए।









समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल