ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा साढे २२ प्रतिशतको वृद्धि देखिएको हो ।

नाफासँगै बैंकका अधिकांश सूचक सकारात्मक देखिएका छन् । वित्तीय विवरण अनुसार बैंकको अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य ग्रोथ देखिएको छ । गत आवको अन्तिमसम्ममा बैंकको नाफा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २२.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्तिमसम्ममा बैंकको नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत आवमा बैंकको यस्तो आम्दानी १६ अबै २० करोड ३० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २.६८ प्रतिशतले कम हो । अघिल्लो बर्ष यस्तो आम्दानी १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँबाट २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ नाघेको छ ।

त्यसैगरी बैंकको सञ्चालन मुनाफा बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २० प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो मुनाफा ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट १६.३४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.८६ प्रतिशतबाट सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ । बैंकको आधार दर ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ कायम भएको छ । ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

फेसबुक प्रतिक्रिया