भोजपुरको डाँडा गाउँमा ‘एक घर, एक धारा’को पहुँच

भोजपुर । भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । ‘ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीयवासीलाई बाह्रै महिना खानेपानीको सुविधा उपलब्ध भएको हो ।

घरघरमा धारा पुगेपछि स्थानीयवासीलाई खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसबाट दैनिक जनजीवन सहज हुनुका साथै सरसफाइ र पशुपालनमासमेत सहजना भएको स्थानीयवासीले बताएका छन् ।स्थानीयवासी टिकादेवी खड्काले घरमै खानेपानीको धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको बताइन् । उनले भनिन् “दैनिक रुपमा घरमै पानी आएपछि सरसफाइ, चौपायालाई खुवाउनसँगै दैनिक जीवन सहज बनेको छ ।”

स्थानीयवासी ज्ञाद्रमाया पाण्डेले विगतमा घरमा धारा नहुँदा खोलाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको सुनाइन् । उनले भनिन्, “घरमै धारा आएपछि पानी ल्याउन लाग्ने समय र श्रम बचत भएको छ । घरमा धारा जडान भएसँगै बालबच्चासँगै घरयासी काममा सहजता भएको छ। ”

निर्माण उपभोक्ता समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ बाट सुरु भएको आयोजना आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरिएको हो । आयोजनाअन्तर्गत पानीको समस्यामा रहेका नागरिकको परिवारमा ‘एक घर, एक धारा’ जडान गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । स्थानीय उपभोक्ताबाट रकम उठाएर रु तीन लाखमा मुहान खरिद गरेर बस्तीसम्म पानी ल्याउन सफल भएको अध्यक्षे बस्नेतले जानकारी दिए । भविष्यमासमेत योजनाको दिगो र सहज सञ्चालनको लागि उपभोक्ता समिति एकजुट बनेको उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोषकुमार ठाकुरले जनश्रमदान र कार्यालयको लगानीमा करिब रु। २५ लाखको लागतमा आयोजना सम्पन्न भएको जानकारी दिए । आयोजनाले स्थानीयवासीको खानेपानीसँगै सरसफाइ र पशुपालनमासमेत सहजता ल्याएको उनले बताए । कार्यालयका इन्जिनियर दीपक यादवका अनुसार आयोजनाको मुख्य पाइपलाइन एक हजार मिटर र वितरण पाइपलाइन दुई हजार एक सय मिटर रहेको छ । आयोजनाले डाँडागाउँ टोलका १५ घरपरिवारलाई नियमित खानेपानीको सुविधा उपलब्ध गराएको उनले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया