
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ठेकेदारको लापरबाहीका कारण सयौँ स्थानीय बासिन्दा तीन महिनादेखि खानेपानीको समस्यामा परेका छन्। पुल निर्माणका क्रममा खानेपानीको मुख्य पाइप क्षतिग्रस्त भएपछि कटहरिया–३ छोटका बडेडवा र वडा नम्बर ४ हर्षाहाका करिब दुई सय परिवार नियमित खानेपानी सेवाबाट वञ्चित भएका हुन्।
लामो समयसम्म खानेपानी आपूर्ति अवरुद्ध हुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ। खानेपानीको वैकल्पिक व्यवस्था गर्न नसक्दा स्थानीय बासिन्दा टाढाका स्रोत तथा अन्य असुरक्षित पानी प्रयोग गर्न बाध्य भएका छन्।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साह तेलीका अनुसार बडेडवा गाउँनजिक नहरमा पुल निर्माणका क्रममा मुन्ना कन्स्ट्रक्सनका ठेकेदार प्रमोद यादवले डोजर चलाउँदा आयोजनाको मुख्य पाइप काटिएको थियो।
पाइप क्षतिग्रस्त भएपछि तत्काल मर्मत तथा पुनःजडानका लागि ठेकेदारलाई पटक–पटक आग्रह गरिए पनि लामो समयसम्म समस्या समाधान नभएको अध्यक्ष साहको गुनासो छ। “पाइप काटिएको जानकारी पटक–पटक गरायौँ। तत्काल मर्मत गर्न आग्रह गर्दा पनि सुनुवाइ भएन,” उनले भनेका छन्।
स्थानीयका अनुसार पुल निर्माणका क्रममा निर्माण कम्पनीले खानेपानीको पाइपबाट पानीसमेत प्रयोग गरेको थियो। तर, पाइप क्षतिग्रस्त भएपछि त्यसको मर्मत तथा पुनःजडानमा भने बेवास्ता गरिएको उनीहरूको आरोप छ। स्थानीय रबी गुप्ताका अनुसार तीन महिनादेखि नियमित पानी नआउँदा महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। “तीन महिनादेखि खानेपानीको समस्या छ। पटक–पटक जानकारी गराउँदा पनि समाधान भएन। असुरक्षित पानी प्रयोग गर्नुपर्ने बाध्यता छ,” उनले गुनासो गरेका छन्।
खानेपानी आयोजनाका कर्मचारी मोतीलाल सोनीले पुल निर्माणका क्रममा मुख्य पाइप क्षतिग्रस्त भएकाले नियमित आपूर्ति प्रभावित भएको स्वीकार गरेका छन्। पाइप पुनःजडान भएपछि मात्रै सेवा पूर्ण रूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ।
यता, मुन्ना कन्स्ट्रक्सनका सञ्चालक प्रमोद यादवले पनि पुल निर्माणका क्रममा खानेपानीको पाइप क्षतिग्रस्त भएको स्वीकार गरेका छन्। पुलको ढलान कार्य बाँकी रहेकाले अहिले वर्षाका कारण तत्काल ढलान गर्न कठिनाइ रहेको उनले बताएका छन्। उनका अनुसार पुलको ढलान सकिएपछि पुलको छेउबाट पाइप जोडेर खानेपानी सेवा सञ्चालन गरिनेछ। उनले दशैँसम्म काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
तर, तीन महिनासम्म खानेपानीबाट वञ्चित स्थानीयले निर्माण कार्य सम्पन्न हुने समयसम्म कुर्न नसकिने बताएका छन्। उनीहरूले तत्काल अस्थायी व्यवस्था गरेर भए पनि खानेपानी आपूर्ति सञ्चालन गर्न माग गरेका छन्।
यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले समेत चासो देखाएका छन्। उनले कुनै पनि बहानामा महिनौँसम्म सयौँ परिवारलाई खानेपानीबाट वञ्चित गर्नु उचित नभएको बताएका छन्। प्रजिअ भुसालले क्षतिग्रस्त पाइप तत्काल मर्मत गरी अवरुद्ध खानेपानी सेवा सञ्चालन गर्न ठेकेदारलाई सुझावसहित निर्देशन दिने जानकारी दिएका छन्।
स्थानीयवासीले कटहरिया नगरपालिका, सम्बन्धित सरकारी निकाय, खानेपानी उपभोक्ता समिति र निर्माण कम्पनीलाई तत्काल समन्वय गरी पाइप मर्मत तथा पुनःजडान गर्न माग गरेका छन्। खानेपानीको समस्या तत्काल समाधान नभए चरणबद्ध आन्दोलनमा उत्रिने स्थानीयवासीले चेतावनी दिएका छन्।












समाचार
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ पर्व