
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे ।
राजनीतिक परिवर्तन र प्राकृतिक प्रकोपजस्ता विभिन्न चुनौतीका बीच पनि व्यवसायीले काम गर्दै आएको उल्लेख गर्दै उनले पछिल्ला घटनाक्रमले निजी क्षेत्र र युवालाई झनै त्रसित बनाएको बताए ।
उनले भने, ‘समस्या थुप्रै छन् तर सबैभन्दा पहिलो कुरा त निजी क्षेत्रलाई विश्वास गर्नुप¥यो, निजी क्षेत्रको कन्फिडेन्स बढाइदिनुपर्यो । अहिलेको समयमा निजी क्षेत्रको कन्फिडेन्स इतिहासमै एभर लो अवस्थामा छ । विभिन्न राजनीतिक परिवर्तन भए, प्राकृतिक प्रकोप पनि भोग्यौं तर अहिलेको परिस्थिति एकदमै कम आत्मविश्वासको स्थितिमा छ । त्यसलाई सबैभन्दा पहिला ट्रस्ट बिल्डअप गर्नैपर्छ । पछिल्लो पटक भएका घटनाहरूले निजी क्षेत्र झन् त्रसित छ, युवाहरू झन् त्रसित छन् ।’
श्रेष्ठले सरकारले उद्योग सञ्चालन गर्नु गलत नभए पनि एउटा उद्योगलाई मात्रै केन्द्रमा राखेर औद्योगीकरणको नीति बनाउन नहुने बताए । हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा मन्त्रीले निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्न सक्ने आशंका व्यक्त गरेको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो मानसिकताले देशमा औद्योगीकरण हुन नसक्ने टिप्पणी गरे ।
‘सरकारले केही उद्योग सञ्चालन गर्न खोजिरहेको छ, त्यसलाई म गलत भन्दिनँ । सरकारले मेसेज पनि दिन खोजेको होला । तर एउटा उद्योगका लागि मात्रै सोचेर भएन । हेटौंडा कपडा उद्योग चल्यो, अब व्यापारीहरूले यसलाई आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने किसिमको मानसिकता किन लिने, मन्त्रीज्यूलाई मेरो सुझाव छ—त्यसका लागि डराउनै पर्दैन, नेपालमा झाँक्रीहरू थुप्रै छन्, लगेर फुकफाक गरे हुन्छ । नभए खुर्सानी र कागती झुण्ड्याए पनि हुन्छ, कसैको आँखा लाग्दैन। तर यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन। नेतृत्व लिनेहरूले यस्तो सोच लिनु हुँदैन,’ उनले भने ।
उनले निजी क्षेत्रप्रति अविश्वास र शंकाको दृष्टिकोण राखेर देशको आर्थिक विकास सम्भव नहुने बताए। सरकार आफैंले उद्योग सञ्चालन गर्दा पनि निजी क्षेत्रलाई कसरी अघि बढाउने भन्ने स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ थियो ।
श्रेष्ठले नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्ने गरी नीति ल्याउनुपर्नेमा जोड दिए। उद्योगको समग्र ‘इकोसिस्टम’ निर्माण गरेर मात्रै उत्पादन र अर्थतन्त्र विस्तार गर्न सकिने उनको भनाइ थियो ।
उनले व्यवसायीले दैनिक रूपमा नाफा–घाटा र विभिन्न चुनौती सामना गर्दै पनि आशावादी भएर व्यवसाय अघि बढाइरहेको उल्लेख गरे । यस्ता उद्यमीको मनोबल गिराउने र हुर्मत लिने काम भए देशको विकास र आर्थिक प्रगति सम्भव नहुने उनको भनाइ थियो ।
श्रेष्ठले सरकार र निजी क्षेत्रबीचको विश्वासको सम्बन्ध बलियो बनाउँदै व्यवसायमैत्री नीतिगत वातावरण निर्माण गर्न सके मात्रै उद्योग, रोजगारी र अर्थतन्त्रको विकासले गति लिने बताए ।













समाचार
सेयर बजारको समस्या समाधानका लागि कांग्रेसले थाल्यो विज्ञहरूसँग परामर्श
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग
सगरमाथा आरोहणसम्बन्धी वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष प्रदर्शन
‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
पर्वतमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण
काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु
वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो