
बागलुङ । बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारी खेतीमा अग्रसर भएका छन् । बागलुङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लास्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन् । उनीहरूले गत आर्थिक वर्षमा रु ३० लाखको तरकारी उत्पादन गरी बजारीकरण गर्न सफल भएका हुन् ।
बागलुङ नगरपालिका स्थानीय सङ्घसंस्थाको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत महिला किसानले ६५ हजार ६६ किलो तरकारी उत्पादन गर्न सफल भएका हुन् । तरकारीको बिक्रीबाट रु ३० लाख पाँच हजार आम्दानी भएको परियोजनाका म्यानेजर ममिता पुनले जानकारी दिइन्।
पुनका अनुसार बागलुङ नगरपालिकाका–५ देखि १४ नम्बर वडासम्मको ७१ वटा तरकारी महिला समूह गठन भएका छन् । समूहमा एक हजार ७४३ घरपरिवार आबद्ध छन् । “नगरपालिकाको आर्थिक सहयोगमा परियोजनाको मुख्य उद्देश्य विपन्न, दलित तथा जनजातिसहितका परिवारलाई स्वावलम्बी समूहमा आबद्ध गराई कृषि तथा पशुपालनमार्फत आयआर्जन बढाउनु रहेको छ”, पुनले भनिन्, “७१ महिला समूहले प्लास्टिक टनेलमार्फत तरकारीखेतीका लागि अनुदान दिइएको हो, उनीहरूलाई बीउबिजनदेखि कृषि उपकरण सहयोग गरी बचत गर्ने बानीको विकास गरिएको छ ।”
परियोजनाले तरकारी उत्पादन तथा जलवायुमैत्री पशु व्यवस्थापन तालिम, प्लास्टिक पोखरी सहयोग, समूह व्यवस्थापन तथा सहकारी सुशासनसम्बन्धी तालिम, कृषि उपकरण तथा मिनिटेलर सहयोग गरिएको छ । यस्तै, मासु व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । बानपा–१२ को ३० महिला परियोजनाअन्तर्गत तरकारी खेती, बाख्रापालनमा सहभागी भएको बागलुङ नगरपालिका–१२ तल्लो सराङ्गीका शर्मिला आचार्यले बताइन् ।
परियोजनाअन्तर्गत हालसम्म ३६१ वटा बाख्रा तथा बोका वितरण गरिएको छ । जसमा ६१ वटा बीउबोका र ३०० वटा बीउपाठी रहेका छन् । किसानलाई वातावरणमैत्री खोर निर्माण, पशु बीमा, उन्नत बीउ, मल्चिङ प्लास्टिक तथा विभिन्न प्राविधिक तालिममा सहयोग गरिएको छ । परियोजनाअन्तर्गत पाँच वटा आधारशिला तालिममा १२८ जना, सात वटा जलवायुमैत्री पशु व्यवस्थापन तालिममा १४० जना र तरकारी उत्पादन तालिममा ५५ जना सहभागी भएका छन् ।
समूहमा आबद्ध किसानले बचत तथा ऋण परिचालनसमेत गर्न थालेका छन् । समूहको बचत रु १२ लाख ८४ हजार ३८७ पुगेको छ । रु ११ लाख ६१ हजार १३० ऋण लगानी भएको परियोजनाले जनाएको छ ।
उक्त ऋण मुख्य गरी कुखुराका चल्ला तथा दाना खरिद र किराना पसल सञ्चालनमा लगानी गरिएको छ । बागलुङ नगरपालिकाले आत्मनिर्भर बागलुङ कार्यक्रमलाई कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि, व्यवसायीकरण र किसानको आयआर्जनसँग जोडेर निरन्तरता दिइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक