
रौतहट । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ ।
हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइएको केराखेतीमा क्षति पु¥याएको छ । हात्तीले पटक–पटक गरेर करिब एक बिघामा लगाएको केराखेती नष्ट गरेको चन्द्रपुर–३ गैँडाटारका किसान लालबाहादुर दोङले जानकारी दिए ।
फल्ने बेला भएको करिब सात सय केराको बोट नष्ट गरेको उनको गुनासो छ । दोङले चन्द्रपुर–२ जुडिबेलामा जमिन भाडामा लिएर केराखेती गर्दै आएका छन् । केराखेतीको बीमा नहुँदा समस्या भएको उनको भनाइ छ । जुडिबेलामा उहाँसहित हर्क घिसिङ, चमेली मायालगायतको बिघौंबिघा जमिनमा लगाएको केराबारी हात्तीले नष्ट गरेको छ ।
यसैगरी चन्द्रपुर–३ गैंडाटारमा पनि हात्तीले केराबारीमा विध्वंस मच्चाएको छ । सो गाउँका हरिशरण गौतमको १३ कट्ठामा लगाएको चार सय बोट, दीपक गौतमको ८५ बोट, सम्पूर्ण चौहानको दुई सय ५० बोट र अनिल भण्डारीको ५० बोट केरा नष्ट गरेको स्थानीय दीपक गौतमले जानकारी दिए । उनका अनुसार खडानन्द गौतमको पाँच कट्ठाको मकै, सोमप्रसाद गौतमको तीन कट्ठाको मकै र बाबु योञ्जनको चार कट्ठाको मकैखेतीमा हात्तीले क्षति पुर्याएको छ ।
हात्तीको बथानले चन्द्रपुर नगरपालिकामा आठ र फतुवा विजयपुर नगरपालिका–११ मा चार घर भत्काएको छ । हात्तीले चन्द्रपुर–३ गैंडाटारमा सात र वडा नम्बर २ जुडिबेलामा एउटा घर भत्काएको स्थानीयले जानकारी दिएका छन् ।
गैंडाटारमा सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर र साइँला गोलेको घर हात्तीले भत्काएको स्थानीय राजु धामीले जानकारी दिए ।
यसैगरी कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण गरेको उद्यान र पानीघट्टमा पनि हात्तीले क्षति पुर्याएको छ । फतुवा विजयपुर नगरपालिका–११ भैसही र बुटवा बस्तीमा हात्तीले चार घर भत्काएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति पुर्याएको हो ।
हात्ती नियन्त्रण गर्न डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले ‘इनालाइजर’ (वन्यजन्तुलाई हल्का झट्का दिने उपकरण) प्रयोग गर्नुपर्ने बताएका छन् । हात्तीले उपद्रो मच्चाउन थालेपछि रोकथामका लागि सो उपकरण प्रयोग गर्नुपर्ने उनले बताए । पर्सा राष्ट्रिय निकुञ्ज अमलेशगञ्जका प्रमुख रामचन्द्र खतिवडासँग परार्मश गरेर सो ‘इनालाइजर’ प्रयोग गर्नु नै हात्ती रोक्ने मुख्य उपाय भएको उनले बताए । ‘इनालाइजर’ खरिद गर्न चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा सहयोगका लागि आफूले पत्राचार गरेको प्रमुख साहले बताए ।
हात्तीले क्षति पुर्याएका व्यक्तिलाई डिभिजन वन कार्यालयले क्षतिपूर्ति दिने भएको छ । हात्तीको आक्रमणबाट ज्यान गुमाएका, घाइते भएका, घर भत्काएका, बालीमा क्षति भएको यकिन गरेर क्षतिपूर्ति दिने प्रावधान रहेको प्रमुख साहले बताए ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना