हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम तथा प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित काष्ठमण्डप संवादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताए।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहने उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा क्षेत्रीय तथा सीमापार सहकार्य आवश्यक रहेकोमा जोड दिए। चिनियाँ राष्ट्रपति सी चिनफिङको भनाइ उद्धृत गर्दै राजदूत झाङले भने, ‘कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन सक्दैन। जलवायु परिवर्तनको सामना कुनै मुलुकले एक्लै गर्न सक्दैन।’

उनले हिमाली विपद्को जोखिम न्यूनीकरणका लागि नेपाल र चीनबीच जल तथा मौसमसम्बन्धी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। विपद्को पूर्वसूचना प्रणाली विकास, अत्याधुनिक प्रविधिको प्रयोग तथा संयुक्त आपत्कालीन उद्धार अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

नेपालमा पछिल्लो समय आएको विपद्का क्रममा चीनले गरेको सहयोगले दुई देशबीचको सहकार्यको महत्व देखाएको उनले बताए। गत अगस्ट २६ को बाढी तथा पहिरोपछि चीनले नेपाललाई २४ लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराएको उनले जानकारी दिए।

त्यस्तै, चीनले ड्रोन, बेलीब्रिज, डीएनए परीक्षण उपकरण तथा उद्धार डुङ्गालगायत राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको उनले बताए। विपद् व्यवस्थापनका लागि सुरुङ उद्धार, डीएनए पहिचान तथा फरेन्सिक पहिचानमा विशेषज्ञता भएका २४ जना विज्ञसमेत नेपाल पठाइएको उनले जानकारी दिए।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम आगामी दिनमा थप गम्भीर बन्न सक्ने भन्दै राजदूत झाङले पूर्वतयारी, सूचना आदानप्रदान तथा उद्धार क्षमतालाई थप बलियो बनाउनुपर्ने बताए। नेपाल र चीनले हिमाली विपद्लाई साझा चुनौतीका रूपमा लिएर हरित विकास, स्वच्छ ऊर्जा, वातावरण संरक्षण तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट