
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका छन्। भारत, रुस र इरानका नेताहरूसहितको सम्मेलनमा युद्ध, व्यापार र ऊर्जा सुरक्षाका विषयले विभाजित ब्रिक्स समूहको ध्यान तान्ने अपेक्षा गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सी शनिबार १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका थिए। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उनको टोलीमा विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी काइ छी पनि सहभागी छन्।
११ सदस्यीय ब्रिक्स समूहको दुईदिने बैठकमा मध्यपूर्व र युक्रेनमा जारी युद्ध, विश्वव्यापी व्यापारमा देखिएको अस्थिरता तथा ऊर्जा सुरक्षाका विषय प्रमुख रूपमा उठ्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति सीको भारत भ्रमण सन् २०१९ पछि पहिलो हो। आणविक शक्ति सम्पन्न दुई छिमेकीबीच पछिल्लो समय सुधार हुँदै गएको सम्बन्धमा यो भ्रमणलाई अहिलेसम्मकै महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
यो भ्रमण सन् २०२० मा विवादित तिब्बती सीमाक्षेत्रमा भएको घातक सैन्य झडपको करिब ६ वर्षपछि हुँदैछ। त्यसयता दुई देशबीच उडान र भिसा सेवा पुनः सुरु हुनुका साथै उच्चस्तरीय सम्पर्कसमेत बढ्दै गएको छ।
तर दुई देशबीचको सीमा विवाद अझै समाधान भएको छैन। तिब्बतसँग जोडिएको करिब ३ हजार ५०० किलोमिटर लामो उच्च हिमाली सीमाक्षेत्रमा दुवै देशले ठूलो संख्यामा सैनिक परिचालन गरिरहेका छन्।
चीनले शुक्रबार भारतसँग सञ्चार र सम्पर्क सुदृढ गर्ने, सहकार्य बढाउने तथा मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्न तयार रहेको जनाएको थियो। भारतको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सीले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रत्यक्ष भेटवार्ता गर्ने कार्यक्रम छ। तर दुवै देशबीच गहिरो अविश्वास कायमै छ। विवादित हिमाली सीमा, बढ्दो व्यापार घाटा तथा रणनीतिक प्रतिस्पर्धाले दुई देशबीचको सम्बन्धलाई अझै जटिल बनाइरहेको छ।
शुक्रबार नयाँ दिल्लीमा निर्वासित जीवन बिताइरहेका दर्जनौँ तिब्बतीले राष्ट्रपति सीको भारत भ्रमणको विरोधमा प्रदर्शन गरेका थिए। उनीहरूले सीको भ्रमणको विरोधमा विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए। तिब्बती आध्यात्मिक नेता दलाई लामा पनि भारतमा निर्वासित जीवन बिताउँदै आएका छन्।
ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियान पनि शुक्रबार नै भारतीय राजधानी नयाँ दिल्ली पुगेका थिए। रुसी राष्ट्रपति पुटिनले शुक्रबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै दुई देशबीचको ‘विशेष’ सम्बन्धलाई थप सुदृढ बनाउने सहमति गरेका थिए।
इरानी राष्ट्रपति पेजेस्कियानसँगको भेटमा प्रधानमन्त्री मोदीले समुद्री मार्गबाट आवतजावत तथा व्यापारको स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए। उनले जहाजका चालक दलको सुरक्षा र हितको संरक्षण गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए।
अमेरिका–इरान युद्धका कारण उत्पन्न ऊर्जा संकट व्यवस्थापनका क्रममा भारतले रुसबाट ऊर्जा खरिद बढाएको छ। यसका कारण युक्रेनमा रुसले जारी राखेको युद्ध तथा अमेरिका र अन्य पश्चिमी मुलुकको दबाबका बाबजुद भारतले रुससँगको ऊर्जा सम्बन्धलाई निरन्तरता दिएको छ।
ब्रिक्स सन् २००९ मा पश्चिमी शक्तिको प्रभाव रहेका अन्तर्राष्ट्रिय संस्थाहरूमा आफ्नो प्रभाव र भूमिका बढाउन चाहने प्रमुख उदीयमान अर्थतन्त्रहरूबीचको मञ्चका रूपमा स्थापना भएको थियो।












समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान
३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम छ : डाँगी