भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त स्टोर पुनर्निर्माण सम्पन्न भएपछि नियमित सेवा शुरु गर्न लागिएको हो ।

भाटभटेनीले आगजनीबाट ध्वस्त भएका आफ्ना १२ स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ । बाँकी दमक र हेटौंडाका स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ ।

गत वर्ष भदौ २४ को घटनापछि ठूलो क्षति बेहोरे पनि कर्मचारीको रोजगारीमा असर पर्न नदिएको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताएका छन् । उनका अनुसार भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग गरिएको छैन । पुनः सञ्चालनमा आएका स्टोरमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको र दसैंमा पाउने बोनससमेत कटौती नगरिएको उनले बताए ।

‘मनमा पीडा थियो, आँखामा आँसु थियो । आँखै अगाडि स्टोरमा आगो बलिरहेका थिए,’ गुरुङले भनेका छन्, ‘तर पनि हामीले राज्यप्रतिको दायित्वलाई बिर्सेनौं । कर्मचारीप्रतिको दायित्व, भूकम्प, कोभिडलगायतका बेला भाटभटेनीले पुर्याएको योगदान सम्झियौं । र, हामी एउटा निष्कर्षमा पुग्यौं–खरानीबाट फेरि उठ्नु पर्छ भन्ने र भोलिदेखि सेवा सूचारु गर्न लागेका छौं ।’

कम्पनीका अनुसार आगजनीपछि एक साताभित्रै पुनर्निर्माणको काम शुरु गरिएको थियो । पूर्णरूपमा क्षतिग्रस्त कोटेश्वरस्थित स्टोरलाई आगजनी भएको पाँच महीनामै पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । त्यसपछि क्रमशः अन्य क्षतिग्रस्त स्टोर पनि पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

दमक र हेटौंडाका स्टोरमा अहिले संरचनागत काम, उपकरण व्यवस्थापन र आन्तरिक निर्माणको काम भइरहेको छ । पुनर्निर्माणमा गुणस्तर र दीर्घकालीन सञ्चालनलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ ।

यसैबीच काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि भाटभटेनीले ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ । नेपाली बालबालिकाले एउटै भवनबाट अन्तरराष्ट्रियस्तरको उपचार सेवा पाउन सकून् भन्ने उद्देश्यले सहयोग गरिएको गुरुङको भनाई छ ।

पुनः सञ्चालनमा आउने टंगाल स्टोरमा आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ । स्टोर पुनः सञ्चालनको अवसरमा ग्राहक, शुभेच्छुक, कर्मचारी तथा सहयोगीप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट