
बर्दिया । वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका-९ जनतानगरकी सीता चौधरीको दुई दशकदेखि अधिकांश समय उनकै हेरचाहमा बितिरहेको छ। श्रीमान्को दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनुपर्यो। श्रीमान्को हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण नियमित रोजगारी र आयआर्जनको काममा लाग्न उनलाई कठिन हुँदै आएको थियो।
सीताजस्तै सोही ठाउँका देवीराम थारुको समय पनि आठ वर्षदेखि आमाको हेरचाहमै बितिरहेको छ। उच्च रक्तचापलगायतका कारण आमा पूर्ण अपाङ्गता भएपछि उनले बाहिर गएर रोजगारी गर्ने अवसर गुमाए। घरमै बसेर आयआर्जन गर्न सकिने सीप सिक्ने अवसर पाएपछि अहिले सीता र देवीराममा नयाँ आशा पलाएको छ। बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति र तिनका परिवारलाई बेतबाँसका सामग्री निर्माणसम्बन्धी झन्डै एक महिनाको तालिम दिन थालेपछि खुसी थपिएको छ। सिकेको सीपलाई आयआर्जनसँग जोड्न सकिने आशा बढेको सीता चौधरीले बताइन्।
फुर्सदको समयमा घरमै बेतबाँसका सामग्री बनाउन सक्षम भएकाले आम्दानी गर्न सकिने उनको भनाइ छ। सीताले भनिन्, ‘सीप नै आम्दानीको स्रोत बन्ने विश्वास छ।’ यसअघि आमाको हेरचाहका लागि घरमा यत्तिकै दिन बित्ने गरेको अनुभव सुनाउँदै देवीरामले भने, ‘बाहिर जाने अवस्था थिएन।’ उनले थपे, ‘अहिले घरमै बसेर मुडा, पूजा टोकरी र ह्याङ्गरलगायतका सामग्री निर्माण गर्न सक्ने भएको छु।’
सीता र देवीराम उदाहरण मात्र हुन्। उनीहरूजस्तै बर्दियाको गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्ति र तिनका परिवार उक्त तालिमबाट लाभान्वित भएका छन्। तालिमपछि उनीहरूले विभिन्न सामग्री निर्माण गर्न थालेका छन्। आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्ति र तिनका परिवारलाई उन्नतस्तरको तालिम, सीप र आयआर्जनमा जोडिएको अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले जनाएको छ।
बर्दियामा १७ हजार अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये परिवारको सहारामा बाँचिरहेका करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका व्यक्ति रहेको अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र सापकोटाले जानकारी दिए। अपाङ्गता भएका व्यक्तिलाई आर्थिक बोझका रूपमा हेर्न नहुने सापकोटाले बताए। उनले भने, ‘अपाङ्गता भएका व्यक्तिले सीप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन्।’ आफ्नै सहारामा जीवनयापन गर्न सक्ने बनाउन सकिने भन्दै उनले थपे, ‘त्यही उद्देश्यले बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम आयोजना गरेका हौँ।’
उत्पादित वस्तु बिक्री नभएको अवस्थामा त्यसको बजारीकरणको जिम्मा संस्थाले नै लिएको छ। बेतबाँसबाट बनेका सामग्रीको बजारमा माग राम्रो रहेकाले सीपलाई उत्पादन र बजारसँग जोड्न आफूहरू लागिपरेको सापकोटाले बताए।
कच्चा पदार्थ स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहल भइरहेको केन्द्रले जनाएको छ। स्थानीय स्रोतसाधनको उपयोगसँगै बेतबाँसबाट उत्पादित सामग्री वातावरणमैत्री हुने भएकाले यसबाट आर्थिक र वातावरणीय दुवै लाभ लिन सकिने केन्द्रको भनाइ छ।
पूर्ण अपाङ्गता भएका व्यक्तिको नियमित हेरचाह गर्नुपर्ने हुँदा त्यस्ता परिवारमा आयआर्जनका अवसर सीमित हुने गरेका छन्। औषधोपचार, हेरचाह तथा दैनिक आवश्यकताका लागि हुने खर्चले परिवारमाथि थप आर्थिक भारसमेत पार्छ। त्यसैले घरमै बसेर गर्न सकिने सीप र रोजगारीका अवसर उपलब्ध गराउनु त्यस्ता परिवारका लागि महत्त्वपूर्ण मानिन्छ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन