
काठमाडौं । वित्तीय स्वास्थ्य र सञ्चालन क्षमतामा उल्लेख्य सुधार गर्दै आएको यती एयरलाइन्सले सर्वसाधारणका लागि २ अर्ब १० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। इन्फोमेरिक्स साख मूल्यांकन नेपालको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षहरूको तुलनामा व्यावसायिक विस्तार गर्दै कम्पनीले ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेसँगै बैंक ऋणको भार घटाउन र वित्तीय आधार थप मजबुत बनाउन प्राथमिक सेयर जारी गर्ने रणनीति लिएको हो।
विदेशी मुद्राको विनिमय दरमा भएको उतारचढावका कारण कम्पनीले ३२ करोड ७० लाख रुपैयाँ वैदेशिक विनिमय घाटा व्यहोर्नुपरे तापनि ब्याज, कर, ह्रासकट्टी र अमोर्टाइजेशन अघिको नाफा दर २९.५६ प्रतिशतमा कायम राख्न सफल भएको छ। कम्पनीको अल्पकालीन दायित्व भुक्तानी क्षमता दर्शाउने ‘हालको अनुपात’ ०.७३ बाट बढेर १.१४ पुगेको छ भने कुल दायित्व र खुद सम्पत्तिको अनुपात ५८.८० गुणाको उच्च जोखिमपूर्ण स्थितिबाट घटेर १.६० गुणामा झरेको छ। यसका साथै ब्याज भुक्तानी क्षमता अनुपात ३.५४ र ऋण सेवा भुक्तानी क्षमता १.८८ पुग्नुले कम्पनीको ऋण जोखिम घट्दै गएको स्पष्ट पार्छ।
यसैबिच, साख मूल्यांकन संस्थाले यती एयरलाइन्सको कुल ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ बराबरको बैंक ऋणको मूल्यांकन पुनः पुष्टि गरेको छ। जसअनुसार कम्पनीको जारीकर्ता साख दर्जा ‘आइआरएन ट्रिपल बी माइनस (इसुअर)’ मा यथावत् छ। त्यस्तै, ६ अर्ब ३८ करोड ९१ लाख रुपैयाँको दीर्घकालीन कर्जाको दर्जा ‘आइआरएन ट्रिपल बी माइनस’, १ अर्ब ४ करोड ६५ लाख रुपैयाँको अल्पकालीन कर्जाको दर्जा ‘आइआरएन ए थ्री’ र ५५ करोड १९ लाख रुपैयाँ बराबरको मिश्रित कर्जाको दर्जा ‘आइआरएन ट्रिपल बी माइनस/ए थ्री’ कायम गरिएको छ। यसले कम्पनीको वित्तीय दायित्व भुक्तानी गर्ने क्षमता मध्यमस्तरको र सुरक्षित रहेको देखाउँछ।
पर्यटन क्षेत्रको ठूलो व्यावसायिक घराना ‘यती वर्ल्ड’को अङ्ग रहेको यस कम्पनीमा एशियन लाइफ इन्स्योरेन्स मुख्य सेयरधनीका रूपमा भित्रिएपछि वित्तीय सबलता थप बढेको छ। ५० वर्षभन्दा बढी अनुभव भएका अध्यक्ष लक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा र मुख्य कार्यकारी अधिकृत सुभास सापकोटाको नेतृत्वमा सञ्चालित यो एयरलाइन्सको बजार हिस्सा करिब २२ देखि २३ प्रतिशत रहँदै आएको थियो। सन् २०२३ को पोखरा दुर्घटना, आर्थिक मन्दी र हवाइ टिकटमा मूल्य अभिवृद्धि करका कारण बजार हिस्सा घटेर १७ प्रतिशतमा झरे तापनि बेडामा दुई नयाँ जहाज थपेर कम्पनीले पुनरागमन गरेको छ।
प्रिमियमसहित व्यक्तिगत सेयर बिक्री मार्फत २ अर्ब २७ करोड रुपैयाँ स्वपूँजी भित्र्याई ऋण चुक्ता र इन्जिन मर्मत गरिएपछि कुल ऋण अनुपात ४.४५ बाट घटेर १.४९ गुणामा झरेको छ।
यद्यपि, कम्पनीसामु केही सञ्चालन चुनौतीहरू पनि कायम छन्। पाटपुर्जाको भण्डारण र भुक्तानी अवधि घटेकाले सञ्चालन चक्र ८४ बाट ९८ दिन र कार्यशील पूँजीको सघनता ३४ प्रतिशत पुगेको छ। १८ वटा उडान मार्ग भए पनि काठमाडौँ–पोखरा र काठमाडौँ–विराटनगरसहित ४ मुख्य मार्गबाट ५१ प्रतिशत आम्दानी प्राप्त हुने र वैदेशिक मुद्रा आम्दानीको ९० प्रतिशत हिस्सा पोखरा क्षेत्रमै सीमित भएकाले उडान मार्ग विविधीकरण आवश्यक देखिन्छ। साथै, कुल खर्चमा ३२ प्रतिशत हिस्सा ओगट्ने हवाई इन्धनको मूल्यवृद्धि र नेपाल नागरिक उड्डयन प्राधिकरणको भाडा दर नियन्त्रणका कारण नाफा दरमा दबाब पर्ने जोखिम अझै विद्यमान छ।












समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री बालेन शाहको सचिवालय टिमको विवरण सार्वजनिक गरियो
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार
रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द