सोलुखुम्बुको फेरा गाउँको छोर्तेन डाँडामा ‘ल्हाबब छोर्तेन’, असोज ३० मा प्राण प्रतिष्ठा

सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ स्थित फेरा गाउँको प्रवेशद्वार छोर्तेन डाँडामा नवनिर्मित ऐतिहासिक तथा पवित्र ’ल्हाबब छोर्तेन’ (देव अवतरण चैत्य) को निर्माण कार्य सम्पन्न भएको छ । बौद्ध धर्म परम्परा अनुसार उक्त नवनिर्मित चैत्यको विशेष ’राब्ने’ (प्राण प्रतिष्ठा) पाठपूजा आगामी २०८३ साल असोज ३० गते शुक्रबार बिहान ९ः०० बजेदेखि छोर्तेन डाँडामा भव्य रूपमा आयोजना गरिने भएको छ ।

उक्त धार्मिक समारोहमा परम श्रद्धेय खेन् रिन्पोछे साङ्गे राङज्युङज्यूको प्रमुख उपस्थिति रहनेछ भने टुल्कु, खेन्पो, लोपोन एवं लामा गुरुहरूको समेत विशेष उपस्थिति रहनेछ । कार्यक्रममा ल्हाबब छोर्तेनको प्राण प्रतिष्ठा पाठपूजाका साथै श्रद्धेय रिन्पोछेज्यूबाट धार्मिक प्रवचन तथा शेर्पा सांस्कृतिक नृत्य प्रस्तुत गरिने बताइएको छ ।

हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका सोलुदुधकुण्ड–२, बेनी निवासी दम्प्त्ति गुर्मी शेर्पा, आङ सानी शेर्पा तथा समस्त फेरावासी गाउँलेहरूको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आयोजकहरूले सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई उपस्थित भई बुद्धको धर्मदेशना, चैत्य दर्शन र प्रसाद ग्रहण गरी पुण्यलाभ लिन हार्दिक निमन्त्रणा गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट