
रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको हो । बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ ।
धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए । ‘प्राधिकरणमा जागिर सुरुगर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीमा विद्युत् पुर्याएको थिएँ, अहिले देशलाई पूर्णरूपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड,अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइरहेका छौं,’ उनले भने ।
रसुवाको सदरमुकामबाट गोसाईकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईकुण्डमा पुर्याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सयवटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरु मानिस र खच्चडले ढुवानी गरिएको थियो।
गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ। बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने छ । वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गुसाइँकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले बताए । भट्टराईले गोसाईकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने जानकारी दिए ।
जोलाङपाटी र लौरीबिनामा केही होटलहरु सञ्चालित छन् । मेलाका यात्रुहरुलाई लक्षित गरी त्यस क्षेत्रमा छाप्राहरु बन्ने गरेका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको छ ।













समाचार
बासुकीमा नागपञ्चमी मेला : शिवमूर्तिमा प्राणप्रतिष्ठा
संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छ : सभामुख अर्याल
७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
मरुवा रोगका कारण ३५ प्रतिशतले घट्यो चैते धानको उत्पादन
गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
धानको न्यूनतम समर्थन मूल्य बढाउन सांसद यादवको माग, न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १० हजार रुपैयाँ
मनबहादुर सार्कीको अकबरे खुर्सानी खेती
वडा अध्यक्ष राई बने उदाहरणीय कृषक, १५ रोपनीमा किवी खेती