
मोरङ । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको हो ।
धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले जुट खेतीतर्फ आकर्षण घट्दै गएको बताए । ‘जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्पादनमा लगानी धेरै लाग्छ । लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुटखेती छाड्दै गएका हौँ,’ उनले भने । विगत वर्षहरूमा तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरिएको चौधरीले बताए ।
तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको जनाइएको छ । विगत वर्षहरूमा जुट सफाइ (धुने) गर्ने मजदुरलाई ४० मुठा धोएबापत छ मुठा दिने चलन थियो, अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको किसान काशीनाथ चौधरी बताए । धनपालथानका किसान चौधरीजस्तै जहदा–७ का किसान राजनिश सिंहले जुटखेतीलाई आधुनिकीकरणतर्फ जोड्न नसक्दा र उचित मूल्य नपाउँदा पछिल्लो समय जुटखेतीको आकर्षण घट्दो रहेको जानकारी दिए ।
किसानले जुटखेतीतर्फको आकर्षण घट्दो बताए तापनि तथ्यांकमा भने वार्षिक रूपमा उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार ३५१.५० मेट्रिक टन, आव २०७९/८० मा ७ हजार ४०९.५० मेट्रिक टन र आव २०८०/८१ मा ७ हजार ७३१ मेट्रिक टन जुट उत्पादन भएको हुँदा विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । उनले मोरङमा गत वर्ष पाँच हजार एक सय १० हेक्टर जमिनमा जुटखेती गरिएकामा यस वर्ष वृद्घि भई पाँच हजार एक सय २५ हेक्टर जमिनमा जुटखेती गरिएकोे बताए । उनका अनुसार यस वर्ष प्रतिहेक्टर १.४५ मेट्रिक टन उत्पादन भएको छ ।
आव २०७८/७९ मा प्रतिक्विन्टल ११ हजार रुपैयाँमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९/८० मा प्रतिक्विन्टल ९ हजार ५०० सम्ममा र हाल प्रतिक्विन्टल ८ हजार १५० मा कारोबार भइरहेको प्रमुख सिंहले बताए । कोशी प्रदेशमा ६ हजार ९६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुटखेती गर्ने गरिएको छ ।
नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयात हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल