
सरकारले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउनपुनरवलोकन प्रक्रिया अघि बढाएको छ। विद्युत्काे अधिकतम उपयोग, आन्तरिक विद्युत् खपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यका साथ नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले महसुल संरचनाको समीक्षा गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न १५ दिनको समयसीमासहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत् नियमन आयोगसमक्ष प्रस्ताव पेस गरिनेछ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार पछिल्ला वर्षमा जलविद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेष गरी वर्षायाममा उत्पादन भएको विद्युत् पूर्ण रूपमा खपत हुन नसक्ने अवस्था देखिएकाले आन्तरिक उपभोग बढाउने नीति आवश्यक भएको उनले बताए। त्यसैअनुसार घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधारको तयारी गरिएको हो।
प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त दरमा विद्युत् उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। यसबाट उपभोक्ताको मासिक विद्युत् खर्च घट्नुका साथै उद्योगहरूको उत्पादन लागत पनि कम हुने अपेक्षा गरिएको छ।
महसुलपुनरवलोकनका लागि सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा ऊर्जा मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जा तथा वित्त क्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहनेछन्। यसैबिच सञ्चालक समितिले विगतका खरिद प्रक्रिया तथा सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी र गुनासोको अध्ययन गर्न छुट्टै छानबिन समिति पनि गठन गरेको छ।
सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा गठित समितिमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल
उद्योग विभागको अधिकांश सेवा अब अनलाइनबाटै