
तनहुँ । दसैँ सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताए । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको उनले जानकारी दिए । ‘दसैँ लागेपछि यहाँ पर्यटक आउने क्रम बढेको छ । दसैँका बेला विद्यालय तथा कार्यालयहरु बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । दुर्गापक्षअन्तर्गत सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरेका छौँ,’ उनले भने ।
स्थानीय अनिल अधिकारीले बिहानै यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटक लोभिने गरेका बताए । ‘दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न एकपटक आएकाहरु पुनः आउने गरेका छन्,’ उनले भने । मानुङकोट घुम्न पुगेका व्यास–४ का मनोज राउतले यहाँबाट देखिने कुहिरो, सूर्योदय र हिमशृङ्खलाको दृश्यले मोहित बनाएको बताए । ‘यो ठाउँ कोरोनाको समयदेखि चर्चामा आएको हो । यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनसँग जोड्दै धेरै पर्यटक भित्र्याउन जरुरी छ,’ उनले भने ।
मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् । विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छभने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।
मानुङकोटबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने आन्तरिक पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः फर्किएर व्यवसाय गर्न थालेका छन् । यसअघि खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।
मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो । अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको होटल व्यवसायी दाहालले बताए । उनका अनुसार कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।













समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका