
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयान प्राधिकरण ९क्यान०ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न लागेको हो ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न करिब रु. १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ । ‘विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढ्नेछ भने एयर ट्राफिक व्यवस्थापनमा थप सहज हुन्छ’, महानिर्देशक अधिकारीले भने ।
स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले स्पष्ट पारेको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे ।
नेपाल र सम्बन्धित मुलुकबीचका द्विपक्षीय तथा बहुपक्षीय हवाई सेवा सम्झौताको आधारभूत मान्यता बमोजिम विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक उडान सङ्ख्या व्यवस्थापन गरिएको जनाउँदै प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई विशेष अनुरोध गरेको छ । प्रचलित कानुनले तोकेको सीमाको परिपालना गरी हवाई भाडाको कार्यान्वयन गर्ने सिद्धान्तविपरीत उड्डयन क्रियाकलाप नगर्न/नगराउन सम्बद्ध पक्षलाई प्राधिकरणले आग्रह पनि गरेको छ ।
नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् ।
टीआइए भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एकसय हाराहारी उडान हुने गरेका छन् ।
पटक–पटक विमानस्थल विस्तार र मर्मत
देशकै जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटक–पटक मर्मत र क्षमता अभिवृद्धि गरिदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो ।
विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत (कालोपत्रे) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू