
तेह्रथुम । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । २८ प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन् । यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो ।
तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो । हाल सात प्रजातिका गुराँसका बिरुवा नर्सरीमा हुर्किरहेका छन् । उपभोक्ता समूहले नर्सरीबाट यस वर्ष इलामको सूर्योदय नगरपालिकामा चार सय ४० र दार्चुलामा एक सय ८६ गुराँसका बिरुवा बेचेको गरेको छ । डिभिजन वन कार्यालयसँगको साझेदारीमा यस वर्ष १७ हजार पाँच सय गुराँसका बिरुवा रातपोखरी सामुदायिक वनले हुर्काएको छ ।
गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ । जंगलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ । दुई, तीन वर्षयताका बिरुवा नर्सरीमा छन् । वन उपभोक्ता समूहले बिरुवा खरिद गर्ने ग्राहकको खोजी पनि गरिरहेको छ । गुराँसका बिरुवा वैशाख अन्तिमदेखि असार मसान्तसम्ममा रोपिसक्नुपर्ने उपभोक्ता समूहका सचिव देवी पौडेललेले बताए । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा ९० प्रतिशत बिरुवा सरेको समन्वय उपप्रमुख श्री कार्कीले बताए।
सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु एक करोडको लागतमा राष्ट्रिय लालीगुराँस उद्यान निर्माण भएको छ । लालीगुराँस उद्यानमा नयाँ सहर आयोजनाले बाटो र शौचालय निर्माण गरेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह