
झापा । केही वर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तीव्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजुली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवागमन बढेको हो ।
सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको धार्मिक महत्व अझ उजागर भएको छ । त्यहाँ अलपत्र परेका गाई–गोरुहरु ल्याएर संरक्षण तथा हेरचाह गरिँदैआएको छ । गौशाला निर्माणले यस क्षेत्रको मुहार फेरिएको सताक्षीधाम विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बताए । विगत १० वर्षमा यहाँको स्वरुप नै परिवर्तन भएको उनको भनाइ छ ।
सडकको सहज पहुँच, विद्युत् र यहाँ बनेका नयाँ मन्दिर तथा संरचनाहरुले धार्मिक पर्यटकलाई यहाँसम्म सहज रुपमा ल्याउन थालेको उनले बताए । पूर्वकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा सताक्षीधामको नाम आउन थालेको उनले उल्लेख गरे । सताक्षीधाम परिसरमा रहेको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजका अनुसार आफूहरुलाई विश्वास गरेर दाताहरुले गरेको विश्वास र सहयोगले सताक्षीधामको महिमा बढेको छ । यहाँ करोडौंका धार्मिक संरचनादेखि लिएर संस्कृत पाठशालासम्म सञ्चालन भएको उनले बताए ।
‘१० वर्ष अघिदेखि हामीले गोरक्षका लागि महोत्सव पनि आयोजना गर्दै आएका छौ,’ उनले भने । । सताक्षीमाताको मन्दिर विश्वमा एकमात्र यहीं रहेकाले यसको महत्व पनि धेरै रहेको उनले बताए । सुरुवातका दिनहरुमा यहाँ काम थाल्दा आफूले निकै कष्ट भोगेको स्मरण गर्दै उनले अहिले विश्वास आर्जित भएपछि भक्तजनको दानबाट नै यहाँको विकास भइरहेको बताए ।
नेपाल, भारत, भुटान, अमेरिका, क्यानडा, स्विजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, नर्वे, डेनमार्क, नेदरल्याण्ड, युके, फिनल्यान्डलगायत मुलकमा रहेका भक्तजनले यस क्षेत्रको विकासका लागि योगदान दिएको उनले जानकारी दिए । ‘स्थानीय, सङ्घीय र प्रदेश सरकारको पनि सहयोग छ,’ उनले भने । सताक्षीधाममा आउने धार्मिक पर्यटकको बसोबासका लागि धर्मशाला निर्माण, साधुसन्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर आश्रम बनाउने काम पनि धमाधम भइरहेको छ । नेपालमा पहिलो पटक द्वादश ज्योतिर्लिङ्ग सताक्षीधाममा निर्माण भएपछि यसको धार्मिक महत्व थप बढेर गएको भारद्वाजले बताए ।
बालाचतुर्दशी, शिवरात्री, गुरुपूर्णिमा, रामनवमी, गोरक्षा महोत्सवजस्ता पर्वमा सताक्षीधाम क्षेत्रमा धार्मिक मेलामा हजारौंको भिड लाग्ने गरेको गौशालाका सचिव मदनमोहन अधिकारीले बताए । गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजको पहल र उहाँको प्रयासले सताक्षीधामले नयाँ पहिचान पाएको उनको दाबी छ ।
शिवसताक्षी नगरपालिकाले पनि यसलाई झापाको प्रमुख धार्मिकस्थलको रुपमा विकास गर्न गुरुयोजना बनाएको छ । नगरपालिकाका प्रमुख रोशन थोप्राका अनुसार ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सताक्षीधामको बिकास र प्रवर्धनका लागि गुरुयोजना बनाएर अघि बढेको बताए ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना