
भक्तपुर । बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आइतबार सम्पन्न भएको छ । सम्मेलनमा थाइल्यान्डबाट आएका ९८ वर्षीय आचार्य सुजिनले भगवान् बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिएका थिए ।
कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा सम्पन्न एक दिने सम्मेलनको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गरेका थिए । ‘धम्म डिस्कसन विद् आचार्य सुजिन’ नामक सम्मेलनमा बुद्ध धर्मका विद्वान, अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरेर थाइल्यान्डसहित विभिन्न देशबाट ६० जना सहभागी थिए भने नेपालबाट चार सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले बुद्धले दिएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
‘बुद्ध नेपालमा जन्मेकोमा गर्भ गर्नु भन्दा पनि बुद्धको ज्ञानलाई आफ्नो जीवनमा अनुसरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन,’ मन्त्री पाण्डेले भने । देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्धान्तिक भन्दा व्यवहारिक र सदाचारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पाण्डेले शिक्षा पद्धति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनुपर्नेमा जोड दिए । विभिन्न देशका बुद्ध धर्मका अध्येतालाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने बताए ।
बुद्ध नेपालमा जन्मिएको भए पनि बुद्धको सन्देश विश्वभर फैलाउन योगदान गरेकोमा मन्त्री पाण्डेले बुद्ध धर्मकी व्याख्याता आचार्य सुजिन लगायतको समूहलाई धन्यवाद दिए । उद्घाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पूर्व राजदूत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेस्रो विश्व युद्ध त हुँदैन ? भन्ने त्रास रहेको बेला बुद्ध जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुसरण गरिरहेका देशका विद्वानहरू एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्त्वपूर्ण भएको बताए ।
कार्यक्रममा भेनिरियल भिक्खु भन्टे सुमाङ्गलोले स्वागत मन्तव्य व्यक्त गर्दै बुद्धको सन्देश विश्व भर फैलाउन आचार्य सुजिनको योगदान स्मरणीय रहेको बताए । आयोजक कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले विश्व शान्तिको सन्देश फैलाउन सम्मेलन फलदायी भएको विश्वास व्यक्त गरे । कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा. डा. वासुदेव काफ्ले, पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला, प्रा. डा. दयाराम श्रेष्ठ, बाग्मती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, बुद्धधर्मका अनुसन्धानकर्ता र शिक्षक तथा विद्यार्थी गरेर करिब पाँच सय जना सहभागी थिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम