गाउँपालिका नै तरकारी खेतीमा

स्याङ्जा । आफ्नै सक्रियतामा आयआर्जन गर्ने लक्ष्यसहित अर्जुनचौपारी गाउँपालिका तरकारी खेतीमा लागेको छ । गाउँपालिकाले वडा नं. १ सिन्नेपानी र नब्बेमा ४० रोपनी क्षेत्रफल जग्गा पाँच वर्षका लागि प्रतिवर्ष १० हजार रुपियाँका दरले लिजमा लिएर तरकारी खेती गर्न थालेको हो ।

यहाँ जग्गा भाडामा लिएर आलु, लसुन तथा प्याज खेती, काउली, मुला, सागलगायतका तरकारीको खेती गर्दै छ । जग्गालाई व्यवस्थापन गर्न बिजुली बत्ती जडान, चौबिसै घण्टा सिसिटिभीबाट खेतको निगरानी गर्ने व्यवस्थासमेत मिलाइएको हो । पालिकाले यस वर्ष ३० रोपनीमा आलु, एक रोपनीमा मुला, एक रोपनीमा काउली तथा बन्दा, दुई रोपनीमा लसुन, चार रोपनीमा प्याज र एक रोपनीमा साग लगाएको छ ।

पालिकाले कृषि कार्य गर्न तीन जनालाई पूर्णकालीन र १० जनालाई अल्पकालीन गरी १३ जनालाई रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए । पालिकाले यस वर्ष मात्र आलु लगाएको छ भने २४ टन आलुको बिउ आमा समूह ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । पालिका अध्यक्ष प्रकाश तिवारीले लिजमा लिइएको जग्गामा खेतीको सम्भावना तथा माटोको उर्वराशक्ति परीक्षण गरेर सोही अनुसारको तरकारी लगाएको बताए ।

आलु उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यसाथ यस वर्ष आलु उत्पादनमा जोड दिइए पनि आउँदा वर्षदेखि हरेक प्रकारका तरकारी उत्पादन गर्ने तिवारीले बताए । यहाँ पालिकाले लगाएको, आमा समूहमार्फत लगाएको र स्थानीयले लगाएको आलुसहित यस वर्ष पालिकाभर तीन लाख केजी आलु उत्पादन हुने अनुमान गरिएको छ । पालिकाले उत्पादन गर्ने आलुलाई बिउका लागि प्रयोग गर्ने योजनासमेत पालिकाले लिएको छ । यो उत्पादन भएसँगै अकबरे खुर्सानीलगायतका सिजन अनुसारका तरकारी लाउने स्थानीय समाजसेवी चन्द्रकान्त अर्यालले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार