
बाँके । महोत्सवस्थलको प्रवेशद्वारमै छ, ‘पैँचो पसल’ । उक्त पैँचो पसलमा लुम्बिनी प्रदेशमा उत्पादित विभिन्न अग्र्यानिक खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवमा आउने अधिकांश पसलमा एकैछिन भए पनि रोकिएर चाखपूर्वक अग्र्यानिक खाद्यान्नबारे जानकारी लिन्छन् भने केहीले खरिद पनि गर्छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १० गतेदेखि सुरु भएको प्रादेशिक महोत्सवमा अधिकांश अवलोकनकर्ताको रोजाइ अग्र्यानिक खाद्यवस्तुमा देखिएको छ । अन्य स्टलले भन्दा अग्र्यानिक खाद्यान्नका प्रदर्शनी कक्षले अवलोकनकर्ता आकर्षित गरेको आयोजकको बुझाइ छ । अग्र्यानिक कोसेली फुड इन्डष्ट्रिज प्रालिका सञ्चालक इन्दिरा शाहीले महोत्सवमा अग्र्यानिक खाद्यान्नमा अवलोकनकर्ताको आकर्षण रहेको बताउछिन् । ‘मेरो प्रदर्शनी कक्षमा सबैभन्दा बढी बिक्री हुनेमा सातु छ, विभिन्न खाद्यान्न मिसाएर बनाएकाले होला धेरैले मन पराउनुभएको छ’, उनले भनिन् । शाहीको प्रदर्शनी कक्षमा हिमाली र पहाडी क्षेत्रमा उत्पादित लसुन, खुर्सानी, टिमुरको छोपका साथै सेलरोटी, जुम्लाको अर्सा बिक्री भइरहेको छ । उनले दैनिक औसत रु १० हजारको बिक्री भइरहेको सुनाइन् ।
त्यस्तै नमुना च्याउ फर्म कोहलपुरकी पद्मकली बमले पनि स्थानीय उत्पादनमा अवलोकनकर्ताको चाख राम्रो देखिएको बताउछिन् । ‘मेरो प्रदर्शनी कक्षमामा फापर, कोदो, मार्सी चामल, चिनो, सिमी, सिस्नो बिक्रीमा छन,’ उनले भनिन् ‘नेपालगञ्जवासीले पनि सिस्नो, कोदो र फापर यति धेरै मन पराउनुहुन्छ भन्ने सोचेकै थिइन्, महोत्सवमा राम्रो व्यापार भइरहेको छ ।’ मीठो छ फुड प्रालिका सविता शाहको अनुभव पनि त्यस्तै छ । उनले महोत्सवमा फिनी र सेलरोटी, खुर्मालगायतका परिकार बिक्री गरिरहकिछिन् । ‘हेर्दा राम्रो र खाँदा स्वादिला भएकाले होला, बिक्री राम्रो भइरहेको छ, दैनिक औसत रु चार हजारको आम्दानी भइरहेको छ’, उनले भनिन् ।
महोत्सवमा हुम्लाको चङ्खेलीको घट्टेखोला मौरीपालन व्यवसायी फर्मका हरिलाल बुढाले भिरमौरीको महसँगै हुम्लामा उत्पादित अग्र्यानिक सिमी, कोदो, चिनो, हाडे ओखर बिक्रीमा राख्नु भएको छ । ‘बजारभरि डुलेर बिक्री गर्दै अग्र्यानिक होभन्दा धेरैले पत्याउँदैनथे, महोत्सवमा भने धेरैले भिरमौरीको मह मनपराउनुभएको छ’, उनले भनिन् । बुढाले एक किलो भिरमौरीको मह रु एक हजार आठ सयमा बिक्री गरिरहेकि छिन् । उनले महोत्सवमा मात्रै अहिलेसम्म २२ केजी मह बिक्री भइसकेको बताइन् ।
बर्दियाको मधुवन–८ को सृजनशील दालमोठ तथा चिप्स उद्योगकी वसन्ती जोशी स्थानीय आलुबाट बनेको चिप्सको माग महोत्सवमा राम्रो रहेको सुनाइन् । उनको प्रदर्शनी कक्षमा चिप्ससँगै दालमोठ, कुरकुरे, चना, केराउ बिक्रीमा राखिएको छ । रोजिना किराना तथा तरकारी पसलकी रुपनी आचार्यको प्रदर्शनी कक्षमा पनि जुम्ला, कालीकोट र बर्दियामा उत्पादित अग्र्यानिक खाद्यवस्तु राखिएको छ । जसमध्ये अधिकांशको रोजाइमा कोदो र फापरको पिठोमा रहेको उनले सुनाइन् । नेपालगञ्ज–२ बागेश्वरी टोलको ‘आन्टीको अचार’ प्रदर्शनी कक्षमा बयर अचार, अकबरे खुर्सानी, आँप, लप्सीको अचार, टिमुर, सिद्रा, चिकन र बफका अचारमा पनि अवलोकनकर्ताको भीड छ ।
महोत्सवका तथ्यांक व्यवस्थापन समितिका संयोजक युवराज ढकालका अनुसार महोत्सवमा अग्र्यानिक खाद्यवस्तुको बिक्री राम्रो भइरहेको छ । संघका प्रथम उपाध्यक्ष तथा प्रादेशिक महोत्सवका प्रदर्शनी कक्ष बुकिङ समितिका संयोजक चिरञ्जीवी ओलीले महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका खाद्यवस्तुका तीन सयभन्दा प्रदर्शनी कक्ष छन् ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल