
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । ‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,’ खत्री भन्छन्, ‘यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।’
खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक रू एक करोड बढीको सुन्तला बिक्री हुने उनी बताउछन् । प्रतिकिलो रू एक सय २० का दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ ।
बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो । विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोपेका थिए । त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे । बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थपे। त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो । सुन्तलाले गाउँघरमै बजार पायो । सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो ।
विदेश जानु नपर्ने, सहर झर्न पनि नपर्ने गरी खत्री परिवारले गाउँमा सुन्तलाबाटै लाखौँ कमाइ गरिरहेका छन् । खत्रीले हरेक वर्ष बिरूवा थप्दै जानुभएको छ । पहिला कोदो, मकै र धान खेती गर्ने सबै बारीमा सुन्तलाका बोट मात्र छन् । घर र आँगनबाहेक सबै खेतबारीमा सुन्तला हुर्केका छन् । नजिकैको खरबारीसमेत भरिएको छ ।
पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरेका थिए । निवृत्त जीवन पनि उनले सुन्तला खेतीमै लगाएका छन् । चार छोरी विवाह गरेर घर गए । स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन् । खत्री मात्र नभएर बाँसखर्कका धेरै कृषकले सुन्तला खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । बीस रोपनीमा नौ सय ५० बोट सुन्तला लगाएका बाँसखर्कका शान्तबहादुर छिन्तेलले रू २३ लाख र आठ सय बोटको बगैँचा भएका हेमकुमार अर्मजाले रू ३० लाखको सुन्तला बिक्री भएको बताए । समुन्द्र सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाईमा रहेको बाँसखर्कका दुई सय ३९ मध्य दुई सय घरपरिवारले सुन्तला खेती गरेका छन् । एक वटा परिवारले वार्षिक कम्तीमा रू पाँच लाखको सुन्तला बेच्छन् ।
बाँसखर्कको एक हजार पाँच सय रोपनी जग्गामा सुन्तला खेती भएको वडा अध्यक्ष जगबहादुर रोकाले बताए । छब्बीस हजार सात सय छ वटा बोटमा यस वर्ष रू १८ करोड ४४ लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए । बाँसखर्कमा ५१ हजार एक सय ५१ सुन्तलाका बोट छन् । चौबीस हजार चार सय ४५ बोट सुन्तलाका बोटमा फल लाग्न बाँकी छ ।
देशका अन्य ठाउँको बगैचा रित्तिएपछि व्यापारीहरूले बाँसखर्कको सुन्तला किनेर लैजान्छन् । पोखरा, काठमाडौँ र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन् । बेनी देखि बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिचाइँको नियमित र व्यवस्थित सुविधा हुने हो भने थप सुन्तला खेती विस्तार गरेर आम्दानी वृद्धि गर्न सकिने बाँसखर्कका कृषकले बताएका छन् ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन