
पर्वत । कुश्मा –४ की ९९ वर्षीय विष्णुमती दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् । उनले मोतीबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुवै आँखाको दृष्टि गुमाउनु परेको थियो । उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनः संसार देख्न पाएकी हुन् ।
उनले भनिन्, ‘सात–आठ वर्ष अगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ । मलाई बिहान बेलुकीको छाक टार्न पनि मुस्किल पर्छ ।’
दुई वर्षदेखि पूर्णरुपमा अन्यकै सहरामा जीवन निर्वाह गरिरहेकी विष्णुमतीले पुनः संसार देख्न पाएपछि खुसी हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘अब यो जुनीमा फेरि संसार देख्न पाउँछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखी मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरीर कमजोर भए पनि अब अरूको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवान्लाई धन्यवाद ।’
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेसन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमती जस्तै १५४ जना मोतीबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो । हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सुवास नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतीबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो ।
शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेसनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सो अवसरमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी : आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित विभिन्न निकायसँगको सहकार्यमा संघले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताए ।
उनले भने, ‘गाउँमा धेरैजसो न्यून आय स्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य छन् त्यसैले संघले उहाँहरूको घर आगनमै गएर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।’ हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हरि विक्रम अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो ।













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला