काठमाडौं । मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार परिसूचक १६ दशमलव ९५ अंकले घटेर २६७६ दशमलव १७ विन्दुमा पुगेको हो ।
गत आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज दोहोरो अंकले नै घटेर बन्द भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५७ अंकले घटेर ४४६ दशमलव ६९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । गत आइतबार ७ अर्ब ५६ करोड माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर ५६ हजार ५४८ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजार दोहोरो अंकले घट्दा पनि एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
गार्डियन माइक्रो लाइफका सेयर मूल्यमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार हुँदा पनि एउटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज सेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य २३४ रुपैयाँ ५० पैसाले बढेर २ हजार ५७९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा सकारात्मक सर्किट र १० प्रतिशतले मूल्य घटेमा नकारात्मक सर्किट लाग्छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विशाल बजार कम्पनी लिमिटेड, राधी विद्युत कम्पनी, यसपत्री हाइड्रोपावर र कुमारी सबल योजना रहेका छन् । मंगलबार रादी विद्युत कम्पनीको सेयर मूल्य पनि ४.२८ प्रतिशत अर्थात् १६ रुपैयाँ ७२ पैसाले बढेर ४०७ रुपैयाँ २१ पैसा पुगेको छ । त्यस्तै सयपत्री हाइड्रोको सेयर मूल्य ३१ रुपैयाँ ८२ पैसाले बढेर ७९९ रुपैयाँ ४८ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.१५ प्रतिशतले धेरै हो ।
आजको कारोबार बन्द हुँदा विशाल बजार कम्पनीको सेयर मूल्य २२७ रुपैयाँ ४२ पैसाले बढेर ५ हजार ८२२ रुपैयाँ ९५ पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.०६ प्रतिशतले धेरै हो । आज कुमारी सफल योजनाको सेयर मूल्य पनि ३.२८ प्रतिशत अर्थात् ०.३० रुपैयाँले बढेर ९ रुपैयाँ ४६ पैसा पुगेको छ ।
धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा दुई हाइड्रोपावर र दुई लघुवित्त
मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार भयो । कारोबार भएका कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने पाँच कम्पनीमा दुईवटा हाइड्रोपावर र दुईवटा लघुवित्त छन् । त्यस्तै एउटा म्युचुअल फण्ड रहेको छ ।
आज सेयर बजारमा गुराँश लघुवित्त र उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र दोर्दीखोला जलविद्युत्त कम्पनी रहेका छन् । त्यस्तै, आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा आरबीबी म्युचुअल फण्ड २ पनि रहेको छ । आज गुराँश लघुवित्तको सेयर मूल्य १७३ रुपैयाँ ७४ पैसाले घटेर २ हजार ९५३ रुपैयाँ ४१ पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ५.५६ प्रतिशतले कम हो ।
आज उपकार लघुवित्तको सेयर मूल्य ४.०५ प्रतिशत अर्थात् १३८ रुपैयाँ ४३ पैसाले घटेर ३ हजार २७७ रुपैयाँ ७२ पैसा पुगेको छ । त्यस्तै आज छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य २२ रुपैयाँ २३ पैसाले घटेर ४८९ रुपैयाँ ५८ पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ४.३६ प्रतिशतले कम हो ।
त्यस्तै, दोर्दीखोला जलविद्युतको सेयर मूल्य पनि आज ३.६५ प्रतिशत अर्थात् १४ रुपैयाँ ४१ पैसाले घटेर ३८० रुपैयाँ १० पैसा पुगेको छ । आज आरबीबी म्युच्युअल फण्डको सेयर मूल्य ०.३३ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.५४ प्रतिशतले कम हो ।