थामेमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न

सोलुखुम्बु । यहाँको थामेमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलन सम्पन्न भएको छ । साथसाथै फाउन्डेसनले आयोजनामा भएको सम्मेलनको उद्घाटन गर्दै रक्षामन्त्री मानवीर राईले पृथ्वी बचाउ अभियानमा सबै एकताबद्ध हुनुपर्ने बताए । त्यसका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने उनको भनाइ थियो ।

मन्त्री राईले जलवायु परिवर्तनको असरका कारण हिमताल विस्फोट हुँदा आएको बाढीले पर्यटकीय नगरी थामेबस्ती तहसनहस बनाएको स्मरण गर्दै थामेबस्ती पुनःनिर्माणको काम सरकारले अघि बढाउने बताए । उनले भने, ‘जलवायु परिवर्तनले हामी आक्रान्त छौँ तर यसको न्यूनीकरणमा सबै जुट्नुपर्छ । त्यसका लागि सरकार अघि बढिसकेको छ ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनजन्य विपत्तिबाट प्रभावित समुदायको पुनःनिर्माण कार्यलाई नेपाल सरकारले अगुवाइ गरेर अघि बढाउने घोषणा गरे । मन्त्री शाहीले बाढीपीडित बस्तीको पुनःनिर्माणलाई सरकारले ‘अपनत्व’ लिएको र सरकार सधैँ खुम्बुबासीको पक्षमा रहेको बताए ।

कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हरेक विकासमा जलवायु परिवर्तनको मुद्दालाई केन्द्रमा राख्नुपर्ने बताए । उनले भने, ‘हिमालमा हिउँ रित्तिदै गएको महसुस भइरहेको छ, हरेक वर्ष हिमालमा हिउँ घट्दै जानु भनेको ठूलो खतराको सङ्केत हो । यसको न्यूनीकरणमा हामी सबै जुटौँ ।’ थामे जस्ता बाढीपीडित क्षेत्रको पुनःनिर्माणमा नेपाल मात्र नभइ विश्व समुदाय नै जुट्नुपर्ने थानीको भनाइ छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले थामेको पुनःनिर्माण, पुनःस्थापना र परिपुरणका लागि तीनै तहका सरकार योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने सुझाव दिए । उनले सञ्चार क्षेत्रले जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बेला आएको बताए ।
ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले पर्यटन पुर्वधार विकास तथा क्षतिग्रस्त संरचना निर्माणका लागि ढिला भइसकेको बताए । थामे खोलामा आएको बाढीले सगरमाथा क्षेत्रको पर्यटकीय संरचना ध्वस्त भएकाले यसको निर्माणमा जुट्न उहाँले सरकारलाई आग्रह गरे ।

आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम प्रभावित क्षेत्रमै पुगेर गर्दा फलदायी हुने बताए । पृथ्वी बँच्यो भने मात्रै प्राणी जगत्को अस्तित्व सम्भाव हुने भन्दै उहाँले अब पृथ्वीको न्यायका लागि सबैले सशक्त भूमिका खेल्नुपर्ने बताए । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बाढी प्रभावितका लागि राहत र पुनःनिर्माणका लागि स्थानीय सरकार अहोरात्र खटिरहेको बताए । अन्तरराष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले खुम्बु जस्तो विकट क्षेत्रमा सरकारका मन्त्री आफैंँ उपस्थित भएर जनगुनासो सुन्नु सकारात्मक भएको बताए ।

नेपाल पत्रकार महासङघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले सगरमाथासहितका हिमालको सुरक्षा, हिमशृङ्लाको अस्तित्व र पृथ्वीको सन्तुलनका निम्ति सबै पत्रकार एकठाउँमा उभिनुपर्नेमा जोड दिए । सम्मेलनमा आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी र स्थानीयबासीसहित भएको छलफल र संवादपछि पाँचबुँदे घोषणापत्र जारी गरिएको छ । घोषणा पत्रमा थामेसहितका बाढीपहिरोपीडितका मुद्दालाई आगामी जेठ २ गते हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने र त्यसका लागि सबै आरोही एकजुट हुनेलगायत घोषणा समेटिएका छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घसहितका विभिन्न सङ्घ संस्थाले सहकार्य गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार