काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र हुने अव्यवस्थित व्यावसायिक हेलिकप्टर उडानमा पालिकाले पुनः कडाइ गरेको छ । पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, स्थानीय व्यापार व्यवसाय तथा पर्यटन गतिविधिमा पर्ने नकारात्मक असरलाई रोक्न गाउँपालिकाले सन् २०२५ को सुरुवातदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो ।
तथापि हेलिकप्टर कम्पनीहरुले नियमको बेवास्ता गरेको भन्दै गाउँपालिकाले पुन सुचना जारी गर्दै आपत्ति जनाएको छ । गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाद्वारा जारी सूचनामा स्थानीय नागरिकहरूको चासोलाई सम्बोधन गर्दै उद्धार, कार्गो तथा सीमित पर्यटकीय उडानबाहेकका सबै व्यावसायिक हेलिकप्टर उडानमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, ‘सगरमाथा क्षेत्र, विशेषतः लुक्लाभन्दा माथिल्लो भेगमा अब स्वास्थ्य संस्थाको सिफारिसमा मात्र हुने वास्तविक उद्धार उडान, अनुमति प्राप्त कार्गो ढुवानी तथा चार हजार तीन सय मिटरभन्दा कम उचाइमा एकपटक अवतरण गरी सञ्चालन गरिने माउन्टेन फ्लाइटहरूलाई मात्र अनुमति दिइनेछ ।’
गाउँपालिकाले सूचनाको अवज्ञा गर्दै व्यावसायिक हेलिकप्टर उडान गर्ने हेलिकप्टर कम्पनी, ट्रेकिङ व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटकहरू स्वयं जिम्मेवार हुने चेतावनी दिएको छ । साथै प्याकेजमार्फत व्यावसायिक उडानको खरिद–बिक्री नगर्न र कुनै किसिमको संशोधन वा परिवर्तन भएको भन्ने गलत सूचनामा विश्वास नगर्न समेत सबै सरोकारवालासँग अनुरोध गरिएको छ । उक्त निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले स्थानीय संघसंस्था, नागरिक समाज, पर्यटन व्यवसायी, गाइड तथा सम्पूर्ण स्थानीय बासिन्दाहरूको सक्रिय सहयोग पनि अपेक्षा गरेको छ ।
