काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेको नाफा २७ करोडभन्दा बढी पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार २७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको ९ महिनासम्ममा कम्पनीको नाफा गत आवको सोही अवधिको भन्दा ०.६७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा २६ करोड ८९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.८१ प्रतिशत बढेको छ भने कुल आम्दानी १६.५४ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २१.३५ प्रतिशत र कुल खर्च १७.७२ प्रतिशत बढेको छ । नाफा बढेपनि इन्स्योरेन्सको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७१ पैसा घटेर ७ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ ।
४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा १० करोड ४७ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।