
पाल्पा । सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाले कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले एकहप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।
महिलालाई वाद्यवादनको सीप सिकाएर कला, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले बताए । “मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेका छन्”, उनले भने, “मौलिक कला, संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेका हौँ । यसले कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन हुनुका साथै स्वरोजगारका अवसर सिर्जना हुने विश्वास लिएका छौँ ।”
बेरोजगार महिला गाउँ, टोल, समाज र ग्रामीण क्षेत्रमा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रममा मादल बजाएर पनि आयआर्जन गर्न सकून् भन्ने मुख्य उद्देश्य रहेको अध्यक्ष भट्टराईले बताए । हरेक कार्यक्रम र सभासमारोहमा कलाकार बोलाउने र आधुनिक गीत बजाएर मनोरञ्जन गर्ने प्रचलन हाबी भएकाले मौलिक संस्कृतिको जगेर्नाका लागि तालिम दिएर महिलालाई यसतर्फ आकर्षित गर्न खोजिएको उनको भनाइ छ । सात दिनसम्म तालिमबाट सीप सिकेपछि महिलाले जस्तोसुकै कार्यक्रममा पनि वाद्यवादकका रूपमा काम गर्नसक्ने भट्टराईले विश्वास व्यक्त गरे।
तालिमको शुभारम्भ गर्दै तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले तालिमले कला, ज्ञान, सीप आर्जनसँगै संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने बताए । उनले भने, “तालिमले गाउँ, छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव हुँदैन भन्ने विश्वास लिएका छौँ ।” प्रवक्ता कार्कीले स्थानीय कला, संस्कृतिको संरक्षणमा प्रतिष्ठानले देखाएको चासो र सक्रियता महत्त्वपूर्ण रहेको भन्दै आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।
तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले तालिम मादल बजाउन मात्र सीमित नहुने भन्दै यसले संस्कृतिको संरक्षण, प्रवद्र्धनसँगै वाद्यवादनको संरक्षण पनि हुने बताए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरे, पाल्पा व्यापार सङ्घका उपाध्यक्ष कमल ढकाललगायतले तालिममा सिकेका ज्ञानलाई अभ्यासमार्फत दक्ष मादल वाधक बन्न सहभागीहरूलाई आग्रह गरे । तालिममा महिलाका साथै मादल बजाउन सिक्ने इच्छुक बालबालिका, युवायुवतीसहित ३० जनाभन्दा बढी सहभागी छन् । तालिममा मादल बजाउने आधारभूत ज्ञान, सीप सिकाइने प्रशिक्षक तथा प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीले बताए ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन