
चितवन । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्त्वपूर्ण छन् ।
यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठ धाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ । वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठ धाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छ भने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उनले जानकारी दिए । ‘बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो’, परियारले भने ।
माडी नगरपालिका–८ का पूर्व वडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०/२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताए ।
भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ। गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । ‘अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्’, वडाध्यक्ष अधिकारीले भने, ‘सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठ धाम क्षेत्रका नै पर्यटकीय स्थललाई प्रवद्र्धन गर्न थालिएको छ ।’
वैकुण्ठ धाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उनको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताए ।
वैकुण्ठ क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पु¥याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । ‘झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्र बन्न सक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौँ’, उनले भने ।
माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताए।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू