
गुल्मी । बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका– ५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्याउन मुस्किल भएको छ ।
कफी विकास कार्यालयले किसानको मागअनुसार कफीका बिरुवा थोरै उत्पादन भएका कारण उपलब्ध गराउन समस्या भएको कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यले जानकारी दिए ।
मुसिकोट नगरपालिका– ५ स्थित कफी विकास केन्द्र आँपचौरमा रहेको नर्सरीबाट यस पटक किसानहरूले दुई लाख कफीका बिरुवाको माग आएको आचार्यले बताए । कफी किसानहरूले यति धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा उत्पादन भएको उनको भनाइ छ ।
कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन गर्नुका साथै बिक्री वितरण गर्दै आइरहेको छ । यहाँको नर्सरीमा उत्पादित बिरुवा राम्रो गुणस्तरयुक्त मानिन्छ । यस पटक पनि गुल्मीसहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङलगायत ४० भन्दा बढी जिल्लाबाट कफीका बिरुवाको माग हुँदै आएको कार्यालयले जनाएको छ ।
कफीका बिरुवाको माग धेरै भए पनि आवश्यक स्रोत र जनशक्तिको अभावका कारण मागअनुसार केन्द्रले बिरुवा उत्पादन गर्न सकिरहेको छैन । मुसिकोट नगरपालिका– ५ अन्तर्गत आँपचौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको सङ्घीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको स्रोत केन्द्र पनि हो । तत्कालीन राजा वीरेन्द्रले २०४१ सालमा आँपचौरमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिक रुपमा कफीखेती गर्न सुरु गरिएको थियो ।
कफी विकास केन्द्रमा प्रतिबिरुवा अहिले ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । कफी विकास केन्द्रले बगैँचा व्यवस्थापन, बीउ उमार्ने, टिप्ने र प्रशोधन गर्नेलगायतका काम गर्दै आएको छ । यसका लागि कफी उत्पादन हुने समयमा ४० देखि ५० जना व्यक्तिले अस्थायी रुपमा रोजगारी पाउने गरेका छन् । केन्द्रमा कफी पल्पिङ मेसिन, कफी हलर मेसिन, कफी ड्रयार, रोस्टर मेसिन र कफी स्प्रे सो मेसिन समेत उपलब्ध छ ।
कफी बगैँचा स्थापना गर्नका लागि केन्द्रले आँपचौरमा अहिले १८४ रोपनी जग्गा खरिद गरेको छ । उक्त बगैँचामा यतिबेला १२ हजार कफीका बिरुवा लगाई सकिएको कार्यालय प्रमुख आचार्यले बताए । कफीको जननी जिल्ला गुल्मीको आँपचौरमा कफी बगैँचा विस्तार गर्ने उद्देश्यले अहिले छ वटा नर्सरीमा ६० हजार कफीका बिरुवा रोपण गरिएको छ ।
पछिल्लो समयमा किसानलाई कफीमा लाग्ने सेतो गबारो मुख्य समस्या बन्दै गइरहेको छ । सेतो गबारोका कारण जिल्लामा १५ प्रतिशत कफीका बोट नष्ट हुने अवस्थामा रहेका छन् ।
जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समय समयमा कफीमा देखिने सेतो गबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटहरूमा क्षति पुग्ने गरेको किसानहरूको गुनासो छ । गुल्मीमा अहिले करिब ३०० हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको छ ।
गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीयतहले कफीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा