
काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो । मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका– ८, लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ । उनी दूध बेचेर मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
१३ वर्ष साउदी अरबमा सवारी चालकका रूपमा काम गरेर फर्किएका क्षेत्रीले वि.सं. २०७३ देखि ‘गोमा गाईभैँसी फार्म’ सञ्चालन गर्दै आएका छन् । साउदीमा बिरामी भएपछि स्वदेश फर्किएका उनले अन्य रोजगारीको विकल्प नदेखेपछि तीनवटा गाईभैँसीबाट पशुपालन सुरु गरेका थिए ।
हाल १४ वटा गाईभैँसी रहेका उनको फार्मबाट दैनिक २ हजार ७०० मूल्यबराबरको ९० लिटर दूध बिक्री हुने गरेको छ । पशुको दाना, औषधि, व्यवस्थापनलगायत खर्च कटाएर मासिक १ लाखभन्दा बढी बचत हुने गरेको उनको भनाइ छ । क्षेत्रीले मोही, पनिर र घिउसमेत उत्पादन गरी बिक्री गर्छन् ।
‘अहिले व्यवसायमा घाटा छैन । मिहिनेत गर्नुपर्छ, त्यसअनुसार आम्दानी पनि हुन्छ’, क्षेत्रीले भने, ‘पहिला पैसा र व्यक्तिगत खर्चका लागि अरुको भर पर्नुपर्थ्यो । अहिले आफ्नै व्यवसायबाट घरखर्च चलाउनुका साथै बचत गर्न सकेको छु ।’
पशुपालनकै आम्दानीबाट उनले तीन छोराछोरीलाई विदेश पठाउँदा लागेको ऋणसमेत तिरेका छन् । व्यवसाय विस्तारका क्रममा करिब ६० लाख रुपैयाँसम्म ऋण लागेको भए पनि पशुपालनबाट भएको आम्दानीले ऋण व्यवस्थापन गर्न सहज भएको उनले बताए ।
फार्ममा तोपबहादुर र श्रीमती गोमा स्वरोजगार बन्नुका साथै एक जनालाई रोजगारी दिएका छन् । कोरोना महामारीका समयमा बजारमा दूध लैजान नपाउँदा उत्पादन खेर गएर घाटा व्यहोर्नुपरेको उनले स्मरण गरे ।
सुरुवाती अवस्थामा पशुपालनसम्बन्धी ज्ञान र व्यावसायिक योजना नभएका कारण विभिन्न समस्या झेलेका क्षेत्रीले पछिल्लोपटक गण्डकी प्रदेश सरकार र दायित्व संस्थामार्फत जलजला गाउँपालिकामा सञ्चालन भएको वृद्धिमुखी उद्यमशीलता विकास परियोजनाबाट प्राविधिक ज्ञान, सीप र अनुदान प्राप्त गरेका छन् ।
तालिम तथा व्यावसायीक ज्ञान हासिल गरेपछि फार्मको व्यवस्थापनमा सुधार आएको उनले बताए । छिमेकी र आफन्तले समेत व्यवसायप्रति विश्वास नगरेको अवस्थामा निरन्तर मिहिनेत र अनुभवबाट फार्मलाई अहिलेको अवस्थामा ल्याउन सफल भएको उनको भनाइ छ ।
‘पहिला धेरैले यो व्यवसाय चल्दैन भन्थे । आफूलाई पनि पशुपालनको ज्ञान थिएन’, उनले भने, ‘तर विस्तारै सिक्दै, अभिलेख राख्दै र बजार बुझ्दै गएपछि व्यवसायप्रति विश्वास बढ्यो ।’ फर्से, लस्तीका किसानले उत्पादन गर्ने दूध स्थानीय संगम दूध उत्पादन तथा कृषि सहकारी संस्थाले संकलन गरेर बागलुङमा बजारीकरणको व्यवस्था मिलाएको छ । कुल ४० किसानबाट दैनिक ६०० देखि ८०० लिटर दूध खरिद गरी बागलुङ पुर्याएर बिक्री गर्ने व्यवस्था मिलाएको संस्थाका सचिव खड्ग केसीले बताए । गाउँपालिकाले प्राविधिक सहयोग र प्रदेश सरकारअन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहकारी संस्थामार्फत प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरेको छ ।
फार्ममा गाईभैँसीको संख्या बढाएर ३० वटा पुर्याउने खत्रीको योजना छ । उत्पादन बढाउनुका साथै दूधजन्य परिकारको उत्पादन र बजारीकरणलाई विस्तार गर्ने उनले बताए । पशुपालन व्यवसायमा दक्ष कामदारको अभाव भने मुख्य चुनौतीका रूपमा रहेको क्षेत्रीको भनाइ छ । नियमित हेरचाह, दानापानी र सरसफाइमा निरन्तर श्रम आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति नपाउँदा समस्या हुने गरेको उनले बताए ।
विदेशमा वर्षौं बिताएर स्वदेश फर्किएका क्षेत्रीका लागि अहिले गाईभैँसी फार्म वैकल्पिक रोजगारी मात्रै नभई परिवारको आर्थिक अवस्था परिवर्तन गर्ने आधार बनेको छ । तीनवटा गाईभैँसीबाट सुरु भएको व्यवसायले अहिले नियमित आम्दानीको स्रोत बनाउँदै परिवारको आर्थिक हैसियतसमेत बदलिदिएको छ ।












समाचार
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर