
तनहुँ । तनहुँमा पहिलोपटक कालीगण्डकी कोरिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रममार्फत पशुपालक किसानको गोठ सुधारदेखि आधुनिक उपकरण तथा प्रजनन पशु उपलब्ध गराउनेसम्मका कार्यक्रम सञ्चालन गरेको छ ।
केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन भएकामा रु ५८ लाख ८० हजार खर्च भएको छ । कालीगण्डकी कोरिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
कार्यक्रमअन्तर्गत दुई वटा गाईभैँसीपालक समूह तथा सहकारीमार्फत आठ वटा नयाँ गोठ निर्माण गरिएको छ । त्यस्तै ३७ वटा गोठ मर्मत तथा सुधार गरिएको छ । पशुजन्य उत्पादनको गुणस्तर कायम राख्न तथा दूध सङ्कलन र व्यवस्थापनलाई सहज बनाउन डिपफ्रिज, मिल्क एनालाइजर र चिलिङ भ्याट उपलब्ध गराइएको ठकुरीले जानकारी दिए ।
त्यसैगरी, दूध सङ्कलन तथा ढुवानीका लागि ७५ थान स्टिल क्यान, पशुको आहार व्यवस्थापनमा सहजताका लागि २५ थान ग्रास कटर र पशुको स्वास्थ्य तथा आरामका लागि ९५ थान काउम्याटलगायतका उपकरण खरिद गरी किसान तथा सहकारीलाई सहयोग गरिएको छ । पशुको नश्ल सुधार तथा उत्पादन क्षमता बढाउने उद्देश्यले एक प्रजनन राँगोसमेत वितरण गरिएको छ ।
कार्यक्रमअन्तर्गत बाख्रापालक कृषक सहकारीमार्फत २३ वटा नयाँ खोर निर्माण गरिएको छ । बाख्राको दाना तथा घाँस व्यवस्थापनलाई सहज बनाउन एउटा कम्बाइन मिल र एउटा चापकटर उपलब्ध गराइएको छ । त्यस्तै नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले आठ वटा प्रजनन बोका सहयोग गरिएको ठकुरीले बताए ।
कार्यक्रमबाट ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका गरी ६९ जना किसान लाभान्वित भएका छन् । पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिकतातर्फ लैजान आवश्यक पूर्वाधार, उपकरण र प्रजनन पशुमा सहयोग केन्द्रित गरिएको कार्यालयले जनाएको छ ।
स्थानीय स्रोतसाधनको प्रयोगबाट उत्पादन लागत कम गर्न सकिने र किसानले उत्पादनबाट बढी लाभ लिन सक्ने पशु स्वास्थ्य प्राविधिक ठकुरीले बताए । उनका अनुसार आधुनिक उपकरण, सुधारिएको गोठ, नश्ल सुधार तथा दूध सङ्कलनसम्बन्धी पूर्वाधारको विकासले पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्नेछ ।
कालीगण्डकी कोरिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालनको सम्भावना रहेकाले पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमले किसानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने आधार तयार गरेको केन्द्रको भनाइ छ ।












समाचार
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर