
भोजपुर । भोजपुर बजारमा मासु तथा माछा पसलको आकस्मिक अनुगमन गरिएको छ। उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका विभिन्न १० वटा मासु पसलमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा मापदण्डविपरीत अस्वस्थकर मासु बिक्रीका लागि राखिएको भेटिएको थियो। बजारस्थित ‘दाजुभाइ माछा पसल’ मा सडेको र गन्ध आइसकेको अवस्थामा भेटिएको १७ किलो ४४५ ग्राम माछा जफत गरी तत्काल नष्ट गरिएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार चाडपर्वको समयमा माग बढ्ने भएकाले अस्वस्थकर माछा तथा मासु बिक्री हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनुगमन गरिएको हो। उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने छुट कसैलाई नभएको उनले बताए। उनले भने, ‘छड्के अनुगमनका क्रममा भेटिएका अस्वस्थकर वस्तुलाई स्थलगत रूपमै नष्ट गरेका छौँ। त्यसका साथै पसलहरूलाई आवश्यक सुझावसमेत दिएका छौँ।’
अनुगमन टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डाक्टर देवकुमार दर्लामीसहितको प्राविधिक तथा विज्ञ समूहको सहभागिता रहेको थियो। बजार अनुगमनका क्रममा डाक्टर दर्लामीले अघिल्ला अनुगमनहरूमा दिइएका सुझावका आधारमा केही मासु व्यवसायीहरूले सरसफाइ र गुणस्तरमा सुधार गरेको पाइएको बताए। यद्यपि अझै पनि केही पसलहरूमा दर्ता नवीकरण, पसलको सरसफाइ र मूल्यसूची टाँस जस्ता विषयमा कमीकमजोरी देखिएकाले सुधार गर्न कडा निर्देशन दिइएको छ।
चाडपर्वको मौका छोपेर सर्वसाधारणलाई अस्वस्थकर खाद्यवस्तु बिक्री गर्ने, कालोबजारी गर्ने वा तोकिएको भन्दा बढी मूल्य लिने जस्ता गतिविधि रोक्न बजार अनुगमनलाई आगामी दिनमा अझ तीव्र र निरन्तर बनाइने अनुगमन टोलीले जनाएको छ। खरिद गर्दा ताजा र गुणस्तरीय वस्तु मात्र रोज्न र शङ्कास्पद देखिएमा सम्बन्धित निकायमा खबर गर्न उपभोक्तालाई आग्रह गरिएको छ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको आयोजनामा गरिएको छड्के अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर नगरपालिका पशु सेवा शाखा तथा सरोकारवालाको उपस्थिति रहेको थियो।












समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा