
भोजपुर । लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।
बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द– १२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताए । एक गाग्री पानीको जोहो गर्न रातको समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमै धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ ।
धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताइन् । षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ । दुई योजनामा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भइरहेको छ । यस आर्थिक वर्षमा पनि तीव्रगतिमा निर्माणको काम भइरहेकाले यस वर्ष नै एक हजार घरपरिवारमा पानी वितरण गर्ने लक्ष्य छ । आयोजनाको स्किम–१ अन्तर्गत १२ वटा ट्याङ्कीमध्ये नौदेखि ७५ घनमिटरसम्मका नौवटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ । त्यस्तै दोस्रो स्किमको पाँचवटा नै वितरण ट्याङ्की निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए । पहिलो ठूलो स्किमअन्तर्गत कमेरे, देउसे र दोस्रो स्किम कखुवा सिस्नेटार मुहानबाट पानी ल्याइएको छ ।
पानी मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्खाको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको निर्माण उपभोक्ता समितिको भनाइ छ । साथै यही क्षेत्रमा सडक विस्तार भइरहेकाले कामलाई चाँडो अघि बढाउन समस्या रहेको निर्माण समितिले जनाएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत २८ करोड ५१ लाख रहेको छ । आयोजनाको वितरण लाइन खन्ने र पुर्ने काम श्रमदानमार्फत गर्ने सम्झौता रहेको छ । यस आयोजनालाई आगामी वर्षभित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ । दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब एक सय ५३ किलोमिटर रहेको छ ।
निर्माणाधीन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । खानेपानी आयोजनालाई समयमा सम्पन्न गराउन नगरको तर्फबाट आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ । यो योजनाको काम सम्पन्न भएपछि यहाँका पाँचवटा वडाका नागरिकलाई पानीको सुविधा पुग्ने उनको भनाइ छ ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो