काठमाडौं । ओपनर बेन डकेटले दोस्रो पारीमा शतक पूरा गरेपछि पहिलो टेस्टमा इङ्ग्ल्याण्डले भारतलाई ५ विकेटले हराएको छ । सन् २०२७ सम्म संचालन हुने वल्र्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी ५ टेस्ट सिरिजमा घरेलु टोलीले १–० ले अग्रता बनाएको छ ।
३ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले पाँचौं तथा अन्तिम दिन मंगलवार १४ ओभर बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्याण्डका ओपनर डकेटले १ सय ४९ रनको महत्वपूर्ण इनिङ खेले । पहिलो विकेटका लागि डकेटले र ज्याक क्रलीले १ सय ८८ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । क्रलीले ६५ रन बनाए । ओली पोप ८ रनमा आउट भए । तेस्रो विकेटका लागि डकेटले जो रुटसँग ४७ रनको साझेदारी गरे । रुट ५३ रनमा अविजित रहे ।
कप्तान बेन स्टोक्स र रुटले पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरे । कप्तान स्टोक्स ३३ रन जोडे । रुसले विकेट किपर जेमी स्मिथले छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरे । स्मिथ ४४ रनमा अविजित रहे । भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिए । पहिलो इनिङमा ६ रनको अग्रता लिएको भारतले दोस्रो इनिङमा ३ सय ६४ रन जोडेपछि घरेलु टोलीले ३ सय ७१ रनको विशाल लक्ष्य पाएको थियो ।
दोस्रो इनिङमा भारतका लागि ऋषभ पन्त र केएल राहुलले शतक बनाएका थिए । पहिलो इनिङमा इङ्ग्ल्याण्डले ४ सय ६५ रन जोडेको थियो । त्यसअघि भारतले पहिलो इनिङमा पहिला कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको थियो । दोस्रो टेस्ट असार १८ गते (जुलाई २) सुरु हुनेछ ।