आज आषाढ महिनाको दशमी तिथि, तिब्बती पात्रोमा ‘टे दवाई छेपा च्यु’ अर्थात् गुरु रिम्पोछेको जन्म जयन्ती । यो दिन हिमाली बौद्ध धर्मावलम्वीहरूका लागि अत्यन्त महत्वपूर्ण छ । गुरु रिम्पोछे, जसलाई पद्मसम्भव र तिब्बतीमा पेमा झ्युङने पनि भनिन्छ । तान्त्रिक बौद्ध धर्मको प्रसार र विकासमा अतुलनीय योगदान पुर्याउने महान् गुरु उहाँलाई ‘दोस्रो बुद्ध’को रूपमा पनि लिइन्छ ।
जन्म र प्रारम्भिक जीवन
तिब्बती परम्पराअनुसार, गुरु रिम्पोछेको जन्म ८ औं शताब्दीमा उडियान (वर्तमान स्वात उपत्यका, पाकिस्तान) मा रहेको धनकोश तालमा कमलको फूलमा एक आठ वर्षीय बालकको रूपमा भएको थियो । यो चमत्कारी जन्मले उहाँलाई ‘पद्मसम्भव’ अर्थात् ‘कमलजात’को नामले चिनायो । किंवदन्तीअनुसार, उहाँको जन्म कुनै सामान्य मानव जन्म नभएर बुद्धको निर्माणकायको अवतारको रूपमा भएको थियो, जसलाई गौतम बुद्धले नै भविष्यवाणी गर्नु भएको थियो ।
उडियाना भूमिको दक्षिणपश्चिममा (हाल पाकिस्तान र अफगानिस्तानको सिमानाको वरिपरि), त्यहाँ ठूलो ताल दानकोश थियो दूधको महासागर । बुद्ध अमिताभको आशीर्वादले, तालको बीचमा धेरै रंगहरूको सुन्दर कमलको फूल फुल्यो, जसमा सुनौलो वज्र पनि देखा पर्यो । वज्रको केन्द्रमा, बुद्ध अमिताभको हृदयबाट निस्केको एक अक्षर हृी देखा पर्यो । अक्षर र वज्र तुरुन्तै कमलको बीचमा बसेको आठ वर्षको उमेरको सानो केटामा परिणत भए । शारीरिक पूर्णताको सबै प्रमुख र साना चिन्हहरू बोकेर, उहाँले ताल वरपरका देवताहरू र डाकिनीहरूलाई शिक्षा दिन थाल्नुभयो ।
त्यस समयमा उडियाना क्षेत्रका उदार राजा, राजा इन्द्रबोधीले जनतालाई दान र तीन रत्नहरूलाई भेटी चढाएर आफ्नो खजाना समाप्त गरिसकेका थिए । खजाना भन्डारण खाली थियो र आफ्नो उत्तराधिकारी नभएको कारण, राजा इच्छा पूरा गर्ने रत्नको खोजीमा सानो दल लिएर निस्के । उनीहरूको खोजी सफल भयो, तिनीहरू उडियाना हुँदै फर्कने यात्रामा थिए जब उनीहरूले दानकोश तालमा कमलमा बसेको चमत्कारी बच्चालाई भेटे । पछि यि कुरा सबै राजालाई थाहा भयो र राजा स्वयम दनाकोशी तालमा जानु भयो । र, छक्क पर्दै ती बालकसँग केही सवालजवाफ गर्नु भयो । त्यसपछि राजाले बालकलाई आफ्नो धर्मपुत्र र युवराजको रूपमा दरबारमा फर्कन निम्तो दिए । स्वीकार गरेपछि, बच्चाको नाम पद्माकर, वा पद्मसम्भव (तिब्बतीमा पेमा झ्युङने) राखियो । जसको अर्थ ’कमलको जन्म’ हो ।
गुरु रिन्पोछेको जन्म सम्बन्धी कथाहरू रहस्यमय र चमत्कारपूर्ण छन् । मण्डी (हिमाचल प्रदेश, भारत) का राजा अर्शधरकी छोरी मन्दारवाले उनबाट शिक्षा लिएको थाहा पाएपछि राजाले गुरु रिम्पोछेलाई आगोमा जलाउने आदेश दिए । तर, सात दिनसम्म चिता जलेपछि त्यहाँ आगोको सट्टा कमलको फूलसहित एक झील बनेको थियो, जहाँ गुरु रिम्पोछे एक षोडश वर्षीय किशोरको रूपमा प्रकट हुनु भयो । यो स्थान हाल मण्डीको रिवाल्सर तालको रूपमा प्रसिद्ध छ ।
शिक्षा र आध्यात्मिक यात्रा
गुरु रिम्पोछेले आफ्नो प्रारम्भिक जीवनमा तन्त्र र बौद्ध दर्शनको गहन अध्ययन गर्नु भयो । उहाँले तान्त्रिक बौद्ध धर्मको गहिरो ज्ञान प्राप्त गर्नुभयो । यही कारण उहाँलाई वज्रयान मार्गको महान् गुरु बनायो । उहाँको शिक्षाले ध्यान, तन्त्र र कर्म योगलाई जोड दियो । जसकारण व्यक्तिको आध्यात्मिक उन्नति र संसारको कल्याणमा योगदान पुग्यो । उहाँले आफ्ना शिष्यहरूलाई अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको ज्योति प्रदान गर्ने गुरुको परम्परालाई जीवित राख्नु भयो ।
बुद्धको भविष्यवाणी
गौतम बुद्धले नै आफु पछि गुरु रिन्पोछेको रुपमा एक महान् गुरुको आगमन हुने भविष्यवाणी गर्नु भएको थियो । जो बुद्ध धर्मको प्रचार र संरक्षण गर्नेछन् । तिब्बती स्रोतहरूअनुसार, गुरु रिम्पोछे गौतम बुद्धको निर्माणकायको अवतार हुनुहुन्थ्यो । जसले बुद्धको शिक्षालाई तिब्बत र हिमालय क्षेत्रमा फैलाउने जिम्मेवारी लिनुभयो । बुद्धले उहाँलाई ‘दोस्रो बुद्ध’को रूपमा समेत उल्लेख गरेको विश्वास गरिन्छ । गुरु रिन्पोछेले नै बुद्धको शिक्षालाई नयाँ युगमा नयाँ ढंगले प्रस्तुत गर्नु भयो ।
नेपाल र तिब्बतसँगको सम्बन्ध
गुरु रिम्पोछेको नेपाल र तिब्बतसँग गहिरो सम्बन्ध छ । ८ औं शताब्दीमा तिब्बतका राजा त्रिसोङ देत्सेनको निमन्त्रणामा उहाँ तिब्बत पुग्नु भयो । तिब्बतमा बौद्ध धर्मको प्रचार गर्न उनले राजा त्रिसोङ देत्सेन र खेनपो शान्तरक्षितसँग मिलेर साम्ये गोन्पाको स्थापना गर्नु भयो । साम्ये गोन्पा तिब्बतकै पहिलो गोन्पा हो । उहाँले तिब्बतमा बौद्ध धर्मलाई स्थानीय बोन धर्मसँग समन्वय गरी स्वीकार्य बनाउनु भयो । गुरु रिन्पोछेको यो योगदानले तिब्बतमा बौद्ध धर्मको आधारशिला खडा गर्यो ।
नेपालमा पनि गुरु रिम्पोछेको प्रभाव गहिरो छ । उहाँले काठमाडौं उपत्यकाको भ्रमण गर्नु भयो । फर्पिङमा वज्र किलाय साधना गर्नु भयो । नेपालको पवित्र भूमिलाई बौद्ध धर्मको केन्द्रको रूपमा स्थापित गर्न गुरु रिन्पोछेले महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।
नेपालमा गुरु रिम्पोछेले बौद्ध धर्मको प्रचार मात्र गर्नु भएन, स्थानीय परम्परा र संस्कृतिसँग जोडिएका अनेक कथाहरू पनि छोड्नु भयो । भुटानमा पनि उहाँको प्रभाव अझ गहिरो छ । भुटानका बौद्ध गुरु धोम्छेपेकरसँगको सम्बन्धले नेपाल र भुटानबीचको धार्मिक सम्बन्धलाई बलियो बनायो ।
गुरु रिन्पोछेको सान्दर्भिकता
गुरु रिम्पोछेको शिक्षाले आजको समयमा पनि उत्तिकै सान्दर्भिकता बोकेको छ । उहाँले गौतम बुद्धको मूल शिक्षा दया, करुणा र अहिंसालाई नै जोड दिनु भयो । उहाँले तान्त्रिक शिक्षामार्फत् व्यक्तिलाई आत्म–जागरण र संसारको कल्याणको मार्ग देखाउनु भयो ।
आज गुरु रिम्पोछेको जन्म जयन्तीको अवसरमा नेपाल, तिब्बत, भुटान र विश्वभरका महायानी बौद्ध समुदायहरूले विभिन्न धार्मिक अनुष्ठान, ध्यान र पूजा–पाठ गरिरहेका छन् । नेपालमा स्वयम्भू, बौद्ध र लुम्बिनीजस्ता स्थानहरूमा विशेष पूजा र प्रवचन आयोजना गरिन्छ । तिब्बती समुदायमा यो दिनलाई ‘टे दवाई छेपा च्यु’ को रूपमा उत्सवका साथ मनाइन्छ ।
गुरु रिम्पोछे केवल एक धार्मिक गुरु मात्र हुनुहुन्न, उहाँले बौद्ध धर्मलाई नयाँ उचाइमा पुर्याएर हिमालय क्षेत्रको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई समृद्ध बनाउनु भयो । उहाँको जन्म जयन्तीले हामीलाई उहाँको करुणा, ज्ञान र समर्पणको सन्देशलाई स्मरण गर्ने अवसर प्रदान गर्छ । यो दिन हामी सबैका लागि प्रेरणा हो कि हामीले आफ्नो जीवनमा ज्ञानको ज्योति बाल्नुपर्छ र अज्ञानको अन्धकारलाई हटाउनुपर्छ ।