
कैलाली । कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका हुन् ।
रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन् । सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ । उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन् ।
“तीस लाख लगानी गरेको हुँ, वार्षिक एक हजार क्विन्टल उत्पादन हुने गरेको छ । सबै खर्च कटाएर मासिक रु एक लाख पचास हजारदेखि दुई लाखसम्म बचत हुन्छ”, किसान जोशीले भने । उनको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ । जग्गाको खोजीमा रहेका नारायण आयोजनाले सहयोग गरिरहेकाले आफू थप दश बिघामा सागसब्जीखेती गर्ने योजनामा रहेको बताए ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छिन् । “खेती गर्दा माटोको संरक्षणबाटै सुरु गरेमा नारायणजस्तै राम्रो आम्दानी लिन सकिन्छ”, उनको भनाइ छ, “किसानले माटो, वातावरण संरक्षणबाटै खेती थाल्नुपर्छ । यसरी ध्यान दिने किसानलाई हामीले बाली संरक्षणमा पनि सघाइरहेका छौँ ।”
सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको युवा किसानलाई कृषिमा प्रेरित गर्ने नीति भएको बताउँछन् । आयोजनाको कमाण्ड क्षेत्रका किसानहरु व्यावसायिक बन्न किसानको आवश्यकताका आधारमा आयोजनाले बीउबिजनमा ५० प्रतिशत अनुदान, नयाँ प्रविधिमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराएको छ । सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गर्नुभएका किसान नारायणका बुबा प्रेमप्रसाद जोशीलाई दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए । राष्ट्रपतिले नगद रु दुई लाखसहित उनलाई कृषिका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान दिएको भन्दै पुरस्कृत गरेका हुन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम