
झापा । हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताए । “किसानहरुले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन गरेका छौँ”, उनले भने, “बगानमा क्षति पुगेको पाइएको छ ।”
चिया किसान गोपाल गिरीले चियाको हरियो पत्ती टिप्ने मुख्य समयमा हल्दिबारीका ठूला र साना सबै चिया बगानमा ‘लुपर’ कीराले महामारीको रुप लिएको बताए । उनले झापाको हल्दिबारीमा मात्र यो रोगको प्रकोप देखापरेको बताए । यसअघि चियाको बोटमा ‘रेड स्पाइडर’ नामक कीराको प्रकोप देखापर्ने गरेको थियो । ‘लुपर’ का कारण हल्दिबारीका चिया बगान पहेलिएर सुक्न थालेको उनको भनाइ छ । ‘लुपर’ एक प्रकारको झुसिल कीरा वा फौजी कीरा जस्तै पात र मुना खाने कीरा हो । यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टि लुपर’ भनेर चिनिन्छ । यसको माउ पुतली हुन्छ । पातमा पारेका असङ्ख्य अण्डाबाट लार्भा निस्किएर चियाको पात खाने गर्दछ ।
किसान नवीन मैनालीले वैशाखदेखि सुरु भएको ‘लुपर’ को प्रकोप साउन लागि सक्दा नियन्त्रण नभएको बताए । कीराले पात खाएर चियाको बोटलाई झिक्रामा परिणत गरिदिएको उनले बताए । किसानहरुले पालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा परामर्श नगरी किरा नियन्त्रणका लागि जथाभावी विषादी प्रयोग गरिरहेको कृषि शाखाका प्रमुख गुरुङ बताउँछन् । जथाभावी विषादी प्रयोग गरिएकाले किरामा पचाउन सक्ने शक्ति बढेको हुनसक्ने उनले आशंका गरे । पालिकाभरिका चिया किसान, सहकारी संस्था र उद्योगीहरुलाई पालिकामा बोलाएर प्रकोप नियन्त्रणका लागि अन्तरक्रिया गर्ने तयारी भइरहेको उनले बताए ।
अनुगमनमा गएका पालिका अध्यक्ष रवीन्द्र लिङ्देनले रोग नियन्त्रणका लागि पालिकाले सबै किसिमको सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले किसानहरुलाई स्प्रे ट्याङ्की दिने घोषणा गरेका छन् । चियाको बोटमा वैशाखदेखि नयाँ पात पलाउने भएकाले वैशाखदेखि साउनको समयलाई हरियो पत्ती उत्पादनको सबैभन्दा मुख्य समय मानिन्छ । किसानहरुले यसपालिको यो समयमा चिया पत्ती टिप्न नपाएको कारण करोडौँको नोक्सानी भएको बताएका छन् ।
हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगानलगायत सात वटा ठूला चिया बगान छन् भने पाँच सयभन्दा बढी परिवारको निजी बगान छ । किसानहरुले सहकारीमार्फत दुई वटा प्रशोधन कारखाना आफैँ चलाउँदै आएका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम