
बागलुङ । बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ । यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो । अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन् ।
उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन् । बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेण्ट फाउण्डेसन नामक संस्थाले यहाँका आमाहरुलाई बाख्रापालनसम्बन्धी सीप र बीउ पुँजी उपलब्ध गराएको छ । वडा कार्यालयले त्यसको परिचालन र आवश्यक आहारमा सहयोग गरेको छ । साँधखोलास्थित प्रगतिशील महिला समूहमा आबद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठाहरु हुर्किरहेका छन् । “हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौँ, अहिले तालिम पाएपछि व्यवस्थित बाख्रापालन सुरु गरेका छौँ”, समूहकी अध्यक्ष कोपिला किसानले भनिन्, “बाख्राबाट आम्दानी गर्ने भनेर हामी मिलेर लागेका छौँ ।” अघिल्लो वर्ष उपलब्ध गराएको बाख्राले आम्दानी दिन थालेपछि यस वर्ष बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन् ।
बाख्रापालनमा आबद्ध समूहका आमाहरुले उपयुक्त घाँसको प्रबन्ध गर्न नजिकैको सामुदायिक वनमा घाँसखेती गर्न थालेका छन् । साँधखोला नजिकैको ७० रोपनी सामुदायिक वन क्षेत्रमा झाडी फाँडेर घाँसखेती सुरुआत गरिएको वडा अध्यक्ष हरिप्रसाद शर्माले बताए। “चिसो र मलिलो ठाउँ भएकाले हिउँद बर्खा घाँसको खाँचो नहोस् भनेर उन्नत घाँसका बिरुवा लगाइएको छ”, उनले भनिन्, “७० रोपनी क्षेत्रफल २७ जनालाई भाग लगाएर आफ्नो भागमा घाँसको विकास गर्न भनेका छौँ ।”
ऐँसेलु फल्ने पाखोमा अब घाँस रोप्ने अभियान थालिएको समूहकी सदस्य बाटुली किसानले बताइन् । उनले वनमारा मासेर घाँसका बिरुवा हुर्किंदा हरेक गोठमा बाह्रै महिना घाँस पुग्ने बताइन् । आँठो छुटाएर पाखामा बिरुवा लगाउने काम भएकाले आफ्नै बारीको जस्तै घाँसको सुरक्षा गरिने उनले बताइन् । बाख्रा र खोरमा सहयोग गरेको कार्यक्रमले घाँस लगाउन पनि सिकाएपछि महिलाहरु प्रफुल्लित छन् । समूहले किम्बु, सुपर नेपियर, खन्युलगायतका घाँसका बिरुवा रोपेका छन् ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन