
म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए ।
‘पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो’, उनले भने, ‘व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।’
अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए ।
विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो ।
तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो ।
९५ प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।
चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ। अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्रे गरिएको छ ।
भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना