
म्याग्दी । रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलव पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ। तुँदी पावर प्रवद्र्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन, स्विचयार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि आज (मंगलबार) देखि परीक्षण उत्पादन थालिएको हो।
आयोजनाका आवासीय इञ्जिनीयर प्रकाश तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण थालिएको जानकारी दिए। ‘निर्माण भएका भौतिक संरचना र जडान गरिएका उपकरणको आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन थालिएको हो,’ उनले भने, ‘परीक्षणका क्रममा कुनै समस्या नदेखिएकाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारीमा छौँ।’ रघुगंगा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नं ४ दग्नामको फेदीमा विद्युतगृह रहेको यस आयोजनाको सुरुङ चार हजार ९०० मिटर लामो छ। ‘आउटलेट’देखि विद्युत गृहसम्म ६ सय ८० मिटर लामो ‘पेनस्टक पाइपलाइन’ जडान गरिएको छ।
अपर राहुघाटको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे मेटल एण्ड मेसिनरी हो। २०७७ देखि निर्माण सुरु भएको यस आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्ट्रक्सन हो। साउथ एशियन इन्फास्ट्रक्चरले यसको सुरुङ बनाएको हो। तुँदी पावरले निर्माण गरेको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले जलविद्युत् आयोजनाले गत असारदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले यही भदौ महिनादेखि व्यावसायिक उत्पादन थालेको थियो।
चिमखोला– मंगले– राहुघाटको विद्युत गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो। दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रहेको छ। यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ।
बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मंगलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन्। चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन्।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह